२९ श्रावण २०८३, शुक्रबार

सुदूरपश्चिम सरकारमा एमालेबाट तीन मन्त्री, एक राज्यमन्त्रीको टुंगो



धनगढी / सुदूरपश्चिम प्रदेशको नयाँ सरकारमा नेकपा एमाले सहभागी हुने भएको छ। एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो।

एमाले संसदीय दलको निर्णयअनुसार प्रमुख सचेतक चक्र मल्ललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गरिएको छ। उपनेता थापालाई भने सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

त्यस्तै, दमन भण्डारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमध्ये एक मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिस गर्ने निर्णय भएको छ। उनको मन्त्रालय भने नेकपासँगको छलफलपछि टुंगो लाग्ने जनाइएको छ।

एमालेले जानकी ऐरलाई राज्यमन्त्रीका रूपमा सरकारमा पठाउने निर्णयसमेत गरेको छ।

सुदूरपश्चिम प्रदेशमा आजै मुख्यमन्त्रीसहित एमालेका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। नयाँ सरकार गठनसँगै मन्त्रालय बाँडफाँट र सत्ता साझेदार दलबीचको जिम्मेवारीसमेत क्रमशः स्पष्ट हुँदै गएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार