शाहले गरे मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा
धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । बिहीबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै शाहले प्रदेश प्रमुखको कार्यालय पुगेर राजीनामा बुझाउने जानकारी दिएका हुन् ।
सत्ता साझेदार नेकपा (एमाले) ले बजेटसम्बन्धी विवादलाई लिएर सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । त्यसपछि नेपाली कांग्रेसको संसदीय दलको निर्णयअनुसार शाहले राजीनामा दिने घोषणा गरेका हुन् । शाह कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत हुन् ।
प्रदेश सभा बैठकमा सम्बोधन गर्दै शाहले अब प्रदेश प्रमुखसमक्ष पुगेर औपचारिक रूपमा राजीनामा बुझाउने बताए ।
शाहले पछिल्लो पटक करिब दुई वर्षदेखि सुदूरपश्चिम सरकारको नेतृत्व गर्दै आएका थिए । यसअघि पनि यही प्रदेश सभाको कार्यकालमा उनले करिब एक वर्ष चार महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
एमालेको समर्थन फिर्तापछि सरकारको बहुमत गुमेपछि शाह नेतृत्वको सरकार संकटमा परेको थियो । बजेट पारित गर्ने विषयमा सत्ता साझेदार दलबीच देखिएको विवाद अन्ततः सरकार परिवर्तनको अवस्थामा पुगेको हो ।




