प्रदेश सरकार गठन र ओलीको नेतृत्वमाथि पाण्डेको प्रश्न
धनगढी/ नेकपा (एमाले) का महाधिवेशन प्रतिनिधि डेजी पाण्डेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वशैलीमाथि सार्वजनिक रूपमा प्रश्न उठाएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता पाण्डेयले अध्यक्ष ओलीले नेपालको राजनीतिमा विरलै पाइने अवसर प्राप्त गरे पनि त्यसलाई देश रूपान्तरणका लागि प्रभावकारी रूपमा उपयोग गर्न नसकेको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “सबै नेतृत्वले राजनीतिमा अवसर पाउँदैनन्, तर केही नेतृत्वले इतिहासमै विरलै पाइने अवसर पाउँछन्। केहीले त्यस अवसरलाई समाल्न सक्दैनन्, तिनैमध्ये हाम्रो पार्टीका अध्यक्ष केपी ओली पनि पर्छन्।”
एमाले कैलालीका पूर्व सचिवसमेत रहेका पाण्डेले ओलीले वडा तहदेखि संघीय सरकारसम्म आफ्नो पार्टीको प्रभावशाली उपस्थिति थियो, प्रदेशमा सभामुख र मुख्यमन्त्री, प्रतिनिधिसभा र राष्ट्रियसभाको नेतृत्व, राष्ट्रपति, उपराष्ट्रपति, संवैधानिक निकायहरूमा नेतृत्व तथा ओलीले चारपटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेको उल्लेख गरेका छन्। दुई पटक झण्डै दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गर्ने अवसरसमेत ओलीले पाएको उनको भनाइ छ।
यति ठूलो जनमत र राजनीतिक शक्तिलाई मुलुकको रूपान्तरणमा प्रयोग गर्नुको सट्टा सत्ता जोगाउने र राजनीतिक तिकडममै बढी समय बिताएको आरोप पनि उनले लगाएका छन्। उनले ओलीको अघिल्लो कार्यकाल अन्त्यतिर “खाली कागजमा राजीनामा गरेर हेलिकोप्टर चढेर भाग्नुपरेको दृश्य नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण हिस्सा बनेको” टिप्पणी गरेका छन्।

एआईको सहयोगमा बनेको तस्बिर
नेता पाण्डेले हाल कोशी, लुम्बिनी र बागमती प्रदेशमा एक–एक वर्षका लागि मुख्यमन्त्री परिवर्तन गर्ने विषयलाई लिएर भइरहेको राजनीतिक गतिविधिमाथि पनि प्रश्न उठाएका छन्। उनले “फेरि यति धेरै खुरापात गर्नुको औचित्य के छ, कमरेड ओली” भन्दै अध्यक्ष ओलीलाई प्रत्यक्ष प्रश्न गरेका छन्।




