४ असार २०८३, बिहिबार

पासपोर्ट खरिद प्रकरण : विदेशमै रहेकी आरजुले अख्तियारलाई पठाइन् इमेल



काठमाडौ/ पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानका लागि उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले आयोगलाई इमेलमार्फत आफ्नो धारणा पठाएकी छन्।

अख्तियार स्रोतका अनुसार बुधबार आरजु राणाको नामबाट आयोगको आधिकारिक इमेलमा सन्देश प्राप्त भएको हो। इमेलमा आफू उपचारका सिलसिलामा विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने उल्लेख गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।

‘उहाँले उपचारका कारण तत्काल उपस्थित हुन नसक्ने तर अनुसन्धान प्रक्रियामा सहयोग गर्न तयार रहेको जानकारी दिनुभएको छ,’ अख्तियार स्रोतले जनाएको छ।

पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा अनुसन्धान अघि बढाएपछि अख्तियारले केही दिनअघि बूढानीलकण्ठस्थित आरजुको निवासमा म्याद तामेल गरेको थियो। म्यादमा बाटोको समयबाहेक तीन दिनभित्र आयोगमा उपस्थित हुन भनिएको छ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा लामो समयदेखि विदेशमा रहेका छन्।

अख्तियारले हालसम्म अध्ययन गरेका कागजातमा तत्कालीन परराष्ट्रमन्त्रीका रूपमा आरजु राणाले पासपोर्ट खरिद प्रक्रियासम्बन्धी कुनै लिखित निर्देशन वा निर्णय गरेको प्रमाण नदेखिएको स्रोतको दाबी छ। यद्यपि, आयोगले प्राप्त गरेका विभिन्न उजुरीका आधारमा अनुसन्धानको दायरा विस्तार गरिएको बताइएको छ।

अख्तियारसम्बद्ध स्रोतका अनुसार ठेक्का प्रक्रियाको प्रारम्भिक डिजाइन, प्याकेज निर्माण तथा ठेकेदार छनोटमा प्रभाव पारिएको भन्ने उजुरीहरू परेका छन्। ती उजुरीमा आरजु राणा मात्रै होइन, उनका छोरा जयवीर देउवाको नामसमेत उल्लेख गरिएको छ।

अनुसन्धानका क्रममा राहदानी विभागमा इ–पासपोर्टको ठेक्का अघि जयवीर देउवा, तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाका छोरा सिद्धार्थ थापा तथा राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालबीच पटक–पटक भेटघाट भएको सूचना पनि अख्तियारले संकलन गरेको स्रोतको भनाइ छ।

अख्तियार र संसदीय समितिहरूमा दर्ता भएका उजुरी तथा पुनरावलोकन निवेदनमा टेण्डरको प्राविधिक मूल्यांकनमै प्रक्रिया उल्लंघन गरिएको दाबी गरिएको छ। टेण्डरमा ब्लेड सर्भर अनिवार्य भनिए पनि छनोट भएका कम्पनीहरूले र्‍याक सर्भर प्रस्ताव गर्दा पनि त्यसलाई स्वीकार गरिएको विषयलाई अनुसन्धानको महत्वपूर्ण आधार बनाइएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार