१८ बैशाख २०८३, शुक्रबार

बडिकेदार मेला सम्पन्न, विकास बहस र पर्यटन योजनामा जोड




डोटी/ बडिकेदार क्षेत्रमा वैशाख १६ र १७ गते आयोजित धार्मिक मेला सफलतापूर्वक भएको छ। कार्यक्रममा स्थानीयवासी तथा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो।

पूजा सम्पन्नसँगै निःशुल्क भण्डाराको व्यवस्था गरी करिब एक हजार ५०० जनालाई भोजन गराइएको आयोजकहरूले जानकारी दिएका छन्।

कार्यक्रमका अवसरमा क्षेत्रीय विकासका विविध विषयमा पनि छलफल गरिएको थियो। इलाका प्रशासन कार्यालयका प्रमुख लालबहादुर बोगटीले बडिकेदार क्षेत्रको समग्र विकासका लागि सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिए।

छलफलका क्रममा सडक, खानेपानी, विद्युत् विस्तार लगायतका पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको थियो। स्थानीयस्तरमा खानेपानी आयोजना प्रारम्भिक चरणमै रहेको र त्यसलाई शीघ्र अघि बढाउने विषयमा सहमति भएको बताइएको छ।

यसैबीच, राजकाडा–चिसापानी केवलकार परियोजनाका सञ्चालक सूर्य थापासँग बडिकेदार क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्नेबारे सहकार्यको छलफल भएको छ। सोही क्रममा आगामी भदौ महिनामा व्यवसायी चन्द्र ढकाल र सूर्य थापाको टोलीले बडिकेदार क्षेत्रको अनुगमन गर्ने कार्यक्रम तय गरिएको छ।

बडिकेदारको पर्यटन प्रवर्द्धनका लागि संघीय तथा प्रदेश सरकारसँग पहलसमेत अघि बढाइएको बडिकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष उपेन्द्र वमले बताए । उनले यसका लागि सम्बन्धित निकायहरूमा प्रतिवेदन पेश गरिएको जानकारी दिए ।

संघीय पर्यटन मन्त्रालय, योजना आयोग तथा प्रदेश पर्यटन मन्त्रालयमा आवश्यक पूर्वाधार र विकासका सम्भावनाबारे प्रतिवेदन बुझाइएको अध्यक्ष वमले बताए ।

स्थानीय तह र सरोकारवालाहरूको सक्रियता बढ्दै जाँदा बडिकेदार क्षेत्रलाई धार्मिक तथा पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

बडिकेदार क्षेत्रमा वैशाख महिनाको मेलासँगै कात्तिक पूर्णिमा र महाशिवरात्रिका अवसरमा पनि ठूलो धार्मिक उत्सव लाग्ने गर्दछ। ती अवसरमा विशेष पूजा, भजनकीर्तन र दर्शनका लागि भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ।

विशेषगरी सन्तान प्राप्तिको कामना लिएर आउने श्रद्धालुले मनोकामना पूरा हुने विश्वासका साथ पूजा गर्ने गर्दछन्। यही आस्थाका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला, कर्णाली प्रदेशको दैलेख तथा भारतका उत्तरप्रदेश र उत्तराखण्डबाट समेत भक्तजन यहाँ आउने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार