५ चैत्र २०८२, बिहीबार

बलात्कार, हत्या र यौन शोषणविरुद्ध कडा कदम चाल्न माग



धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको बाल अधिकारका लागि संसदीय मञ्चले बालिका तथा किशोरीमाथि बढ्दो बलात्कार, हत्या र यौन शोषणका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। पछिल्ला घटनाहरूले समाजमा असुरक्षा र त्रासको अवस्था सिर्जना गरेको भन्दै मञ्चले सरकारको ध्यानाकर्षण गराएको हो।

बिहीबार आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीलाई ध्यानाकर्षणपत्र बुझाउँदै मञ्चले विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा यस्ता जघन्य अपराध बढ्दै गएको उल्लेख गरेको छ। सुर्खेतमा १६ वर्षीया किशोरी इनिशा विकमाथि भएको सामूहिक बलात्कारपछि हत्याको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै यसलाई अत्यन्त गम्भीर रूपमा लिइएको जनाइएको छ।

मञ्चले यस्ता घटनाले बालिका तथा किशोरीहरूको मानसिक, सामाजिक र भावनात्मक जीवनमा गहिरो असर पारिरहेको औंल्याउँदै अपराध नियन्त्रणका लागि राज्यले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेको छ। साथै दोषीमाथि कडा कानुनी कारबाही, पीडितलाई शीघ्र न्याय र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि जोड दिइएको छ।

ध्यानाकर्षणपत्रमा यस्ता अपराधहरूले नेपालको संविधानले सुनिश्चित गरेको बालअधिकार तथा अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी प्रतिबद्धतामाथि चुनौती खडा गरेको उल्लेख गरिएको छ।

मञ्चका संयोजक ललिता सुनारको नेतृत्वमा प्रदेश सभा सदस्यहरू अक्कलबहादुर रावल, शिवसिंह ओली, इन्दिरा गिरी र जानकी कुँवरलगायतको टोली मन्त्रालय पुगेको थियो।

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री सार्कीले यस्ता जघन्य अपराध न्यूनीकरणका लागि सरकार मात्र नभई समाजको पनि सक्रिय सहकार्य आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार