पाँचौँ प्रयासपछि प्रतिनिधि सभामा विक

धनगढी/ सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लामा हलिया परिवारमा जन्मनु भएका गणेशबहादुर विश्वकर्मा अन्ततः पाँचौँ प्रयासपछि प्रतिनिधि सभा सदस्य बन्न सफल भएका छन् । यसपटक उनी समानुपातिक प्रणालीबाट प्रतिनिधि सभामा पुगेका हुन।
५५ वर्षीय विश्वकर्माले विगतका निर्वाचनहरूमा चारपटकसम्म पनि समानुपातिक सूचीमार्फत संसद् पुग्ने प्रयास गरेका थिए । उनी २०६४, २०७० र २०७४ सालका निर्वाचनमा नेकपा (एमाले) को समानुपातिक सूचीमा परेका थिए भने २०७९ सालमा तत्कालीन नेकपा एकीकृत समाजवादीबाट सूचीमा रहेका थिए । तर ती सबै प्रयास सफल हुन सकेका थिएनन् ।
२०७४ मा एमालेले उनीभन्दा कनिष्ठ नेतालाई प्राथमिकता दिएको थियो भने २०७९ मा एकीकृत समाजवादीले समानुपातिक सिट प्राप्त गर्न नसक्दा उनको नाम अन्तिम सूचीमा परेन ।
यसपटक भने नेकपाले सिफारिस गरेको उहाँको नाम निर्वाचन आयोगले सोमबार अनुमोदन गरी सार्वजनिक गरेपछि उनी प्रतिनिधि सभा सदस्य बन्ने बाटो खुलेको हो ।
हलिया पेशासँग जोडिएको परिवारमा जन्मनु भएका विकले कठिन परिस्थितिमा अध्ययन पूरा गरेका हुन । बझाङ र डोटीमा अध्ययन गर्दै उहाँले एसएलसी, प्रमाणपत्र तह र स्नातक तह उत्तीर्ण गरे। हाल स्नातोकोत्तर गरकै त्रिभुवन विश्वविद्यालयबाट नै उनले “नेपालमा भूमिसुधारको राजनीति” विषयमा विद्यावारिधि अध्ययन गरिरहेका छन्।
उनी विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिए । अनेरास्ववियूमा काम गर्दै राजनीतिक यात्रा सुरु गरेका विकले एमालेका विभिन्न तहका कमिटीमा जिम्मेवारी सम्हालेका छन् । पछि तत्कालीन नेकपा ९एकीकृत समाजवादी० मा केन्द्रीय सचिवको जिम्मेवारीमा रहेका उनी अहिले नेकपाको केन्द्रीय कमिटी सदस्यका रूपमा सक्रिय छन्।
विगत तीन दशकदेखि दलित अधिकारका क्षेत्रमा सक्रिय विकले हरेक वर्ष भदौ महिनामा दलित अगुवाहरूलाई सहभागी गराएर ‘दलित संसद्’ सञ्चालन गर्ने अभियान चलाउँदै आएका छन् । पार्टीभित्र पनि फरक मत राख्ने र आवश्यकता पर्दा खुलेर विद्रोह गर्ने नेताका रूपमा उनको पहिचान बनेको छ ।
जीविकोपार्जनका लागि उनले विद्यालयमा अध्यापन गर्नुका साथै गैरसरकारी क्षेत्रमा समेत काम गरेको अनुभव छ । साथै उनी सुदूरपश्चिम प्रदेश सरकारको नीति आयोगको उपाध्यक्ष समेत भइसकेका छन् ।
प्रतिनिधि सभा सदस्यमा छानिएपछि दलित अधिकारको संस्थागत सुनिश्चितता, समग्र राष्ट्रिय विकास र सुशासन सुधारका लागि संसदभित्र आवाज उठाउने आफ्नो लक्ष्य रहेको विकले बताए ।




