जन्तीको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १३ पुग्यो

बैतडी/ बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ भने ३५ जना घाइते भएका छन् । घटनास्थलमै सात जना र उपचारका क्रममा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बिहीबार राति करिब ८ बजे पुर्चौंडी नगरपालिका–७ भवने गाउँबाट दुलहीसहित जन्ती बोकेर बझाङको सुनकुडातर्फ गइरहेको पवनदूत यातायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका–७ बडगाउँको मोडमा दुर्घटनामा परेको प्रहरी निरीक्षक बलदेव बडूले बताए। उहाँका अनुसार बस सडकबाट करिब १५० मिटर तल खसेको हो ।
दुलहा–दुलही अर्को जीपमा सवार रहेकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी बैतडी पुर्चौंडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी र १५ वर्षीय शुशील जोशीको मृत्यु भएको छ । शुशील दुलहीका भाइ भएको परिवारजनले बताएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा बझाङका ११ जनाको मृत्यु भएको छ । मृतकमा बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला, बित्थडचिर–७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दिपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी र केदारस्यु–७ का २६ वर्षीय केशवराज भट्ट रहेका छन् ।
घटनामा सामान्य घाइते भएका बस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का वीरेन्द्र बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते २५ जनाको डडेल्धुरा अस्पतालमा, पाँच जनाको धनगढीमा र सामान्य घाइते पाँच जनाको बझाङको देउलेक प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
वासुलिङ समाचारदाताका अनुसार दुलही लिएर घर फर्कँदै गरेको जन्तीमा खुसी र उत्साह थियो । तर पुर्चौंडी नगरपालिका–७ बडगाउँको साँघुरो उकालो घुम्तीमा पुग्दा बस मोडिन नसकी ब्याक भएको थियो । ब्रेकले साथ नदिँदा बस भीरतर्फ खसेको स्थानीयले बताएका छन् ।
दुर्घटनाबाट ज्यान जोगाएका अमरराज जोशीले “बस खस्दैछ” भन्दै हाम फालेको र उतीसको रुखमा अड्किएर बाँच्न सफल भएको बताए । “त्यो दृश्य अझै पनि आँखाअगाडि घुमिरहन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रारम्भिक अनुसन्धान अनुसार कच्ची र उकालो सडकमा अत्यधिक भार बोकेका कारण दुर्घटना भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पुर्चौंडी नगरपालिका र बझाङको बित्थडचिर गाउँपालिकाले शुक्रबार शोक विदा दिएका छन् । पुर्चौंडी नगरपालिकाले नगरभित्रका सबै सरकारी तथा निजी संस्थाहरू बन्द रहने जनाएको छ ।
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही एक लाख रुपैयाँ मानवीय सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रीपरिषद् बैठकले घाइतेहरूको सरकारी अस्पतालमा हुने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।




