बैतडीमा जन्ती बोकेको बस दुर्घटना : १३ जनाको मृत्यु नामावलीसहित

बैतडी / बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबैको सनाखत भएको प्रहरीले जनाएको छ ।
पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडमा गएराति दुर्घटनामा परेको हो । बस सडकबाट करिब दुई सय मिटर तल खसेर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि विहीबार रातिसम्म ८ जनाको मृत्यु पुष्टि भएको थियो । थप ५ जनाको डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले जानकारी दिए ।
डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, अन्दाजी २७ वर्षीय दीपक जोशी र अन्दाजी ४५ वर्षीय किसनदत्त जोशी रहेका छन् । यस्तै, बझाङ केदारस्यु गाउँपालिका–७ का अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौडी नगरपालिका–७ का अन्दाजी १४ वर्षीय सुशील जोशीको पनि मृत्यु भएको छ ।
यसअघि घटनास्थलमै मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी रहेका छन् । त्यस्तै, बझाङ केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतलाको पनि मृत्यु भएको पुष्टि भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका २५ जनाको डडेलधुरा अस्पतालमा र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।
बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । बेहुला–बेहुली भने अर्को गाडीमा सवार रहेकाले सकुशल रहेको जनाइएको छ ।
जन्ती सवार बस बझाङको सुनकुडातर्फ फर्किने क्रममा दुर्घटनामा परेको हो ।




