२४ पुष २०८२, बिहीबार

सुदूरपश्चिमबाट राष्ट्रियसभा निर्वाचनमा चार जनाको उम्मेदवारी दर्ता




धनगढी/
सुदूरपश्चिम प्रदेशबाट हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन कार्यक्रमअनुसार धनगढीस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो भने केन्द्रमा भएको सहमतिअनुसार नेपाली कांग्रेस र एमालेले एक–एक सिटका लागि उम्मेदवारी दिए ।

नेपाली कांग्रेसका तर्फबाट खम्मबहादुर खातीले र एमालेका तर्फबाट लिला भण्डारी उम्मेदवारी दर्ता गरिन । कांग्रेस–एमालेबीच भएको राजनीतिक समझदारीअनुसार दुवै दलले फरक–फरक सिटमा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दिए ।

यस्तै,नेकपाले भने गठबन्धनविरुद्ध एकल रूपमा उम्मेदवारी दिएको जनाएको छ । सो पार्टीका तर्फबाट महिलातर्फ रोजी बस्नेत सुनार र पुरुषतर्फ टिकाराम जैशीले उम्मेदवारी दर्ता गराए ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ भने अब उम्मेदवारी जाँच, नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र अन्तिम नामावली सार्वजनिक गर्ने कार्य तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि बढ्ने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

अन्य क्लस्टरबाट उम्मेदवार बनेका खम्मबहादुर खाती पूर्वमहान्यायाधिवक्ता हुन भने महिला क्लस्टरबाट उम्मेदवार बनेकी लिला भण्डारी माओवादी पृष्ठभूमिकी नेतृ तथा पूर्वराज्यमन्त्री भएकी थिइन। भण्डारी एमालेको केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्जसमेत छिन् ।

कांग्रेस–एमाले गठबन्धनविरुद्ध उम्मेदवारी दिएको नेकपाका टिकाराम जैशी माओवादी पृष्ठभूमिका व्यवसायी तथा समाजसेवी हुन । यस्तै रोजी बस्नेत सुनार एकीकृत समाजवादी हुँदै नेकपामा प्रवेश गरेकी हुन ।

छ वर्षअघि निर्वाचित एमालेकी शारदादेवी भट्ट र नेकपाका तारामान स्वाँरको पदावधि सकिन लागेपछि उनीहरूको स्थानमा निर्वाचन हुन लागेको हो भने ११ माघमा हुने निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १९ तोकिएको छ भने सुदूरपश्चिम प्रदेशमा छ हजार १५३ मतभार रहेको छ ।

प्रदेशसभामा १८ सदस्य रहेको नेपाली कांग्रेससँग स्थानीय तहतर्फ ८६ जना प्रमुख र उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष छन् जसअनुसार कांग्रेसको कुल मतभार दुई हजार ६०७ रहेको छ ।

दोस्रो स्थानमा रहेको नेकपाको मतभार एक हजार ८१६ रहेको भनिएको छ भने एमालेको मतभार एक हजार ५३३ रहेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको ५३/५३ तथा स्वतन्त्रतर्फ ३८ मतभार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार