१५ पुष २०८२, मंगलवार

सुदूरपश्चिमको गरिबी घटाउने ठोस योजना बिना भोट नदिन मेयर हमालको आह्वान




धनगढी/धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आगामी निर्वाचनमा दल र नेताहरूलाई सुदूरपश्चिमको गरिबी अन्त्य गर्ने स्पष्ट र व्यवहारिक योजना प्रस्तुत गर्न बाध्य पार्न नागरिकलाई आग्रह गरेका छन्।

पुस १५ तथा तमु ल्होसारको अवसरमा सार्वजनिक भिडियो सन्देशमार्फत उनले सुदूरपश्चिममा गरिबी झन् गहिरिँदै जानु चिन्ताको विषय भएको बताए।

राजनीतिक परिवर्तन र शासन प्रणाली फेरिए पनि सुदूरपश्चिमले अपेक्षित विकासको अनुभूति गर्न नसकेको भन्दै मेयर हमालले वर्तमान अवस्था निराशाजनक रहेको उल्लेख गरे। “देशमा धेरै परिवर्तन भए, तर सुदूरपश्चिमको जीवनस्तरमा सुधार देखिन सकेन,” उनले भने।

गरिबीसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै उनले कर्णाली र सुदूरपश्चिमको अवस्थाको तुलना गरेका छन्। उनका अनुसार सन् २०१९ मा कर्णाली प्रदेशको गरिबी दर ३९ दशमलव ५० प्रतिशत थियो, जुन घटेर हाल २६ दशमलव ६९ प्रतिशतमा झरेको छ। तर सोही अवधिमा सुदूरपश्चिमको गरिबी दर २५ दशमलव ३० प्रतिशतबाट बढेर ३४ दशमलव १६ प्रतिशत पुगेको छ।

“कर्णालीले गरिबी घटाउन सक्दा सुदूरपश्चिममा किन अवस्था उल्टो भयो भन्ने प्रश्न गम्भीर छ,” उनले भने, “यसको उत्तर खोज्नु हामी सबैको दायित्व हो।”

मेयर हमालले पुस १५ लाई केन्द्र मानेर अबदेखि गरिबीविरुद्धको बहस सुरु गर्नुपर्नेमा जोड दिए। निर्वाचनका बेला भावनात्मक भाषणभन्दा गरिबी घटाउने योजना, समयरेखा र कार्यान्वयनको स्पष्ट खाका माग्न नागरिक सजग हुनुपर्ने उनले बताए।

उनले चिया पसल, चौतारो, टोल र सार्वजनिक स्थानमा हुने छलफलमा गरिबीलाई मुख्य एजेन्डा बनाउन आग्रह गरे। “गरिबी घटाउने विश्वसनीय योजना दिन सक्ने उम्मेदवार र दललाई मात्रै मत दिने संस्कार अब विकास गर्नैपर्छ,” उनले स्पष्ट पारे।

नगर प्रमुख हमालका अनुसार प्रश्न नगरी मत दिने प्रवृत्तिले सुदूरपश्चिम पछाडि परेको हो। अब सचेत नागरिकको दबाबबाट मात्रै दीर्घकालीन परिवर्तन सम्भव हुने उनले विश्वास व्यक्त गरे।

अन्त्यमा उनले पुस १५ लाई गरिबीविरुद्धको जनबहस सुरु गर्ने प्रतीकात्मक दिनका रूपमा लिन आग्रह गर्दै, दल र नेताहरूलाई जनताप्रति उत्तरदायी बनाउने अभियानमा सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार