१५ पुष २०८२, मंगलवार

एमालेनिकट कर्मचारी संगठन कैलाली सचिव रावलसहितले छाडे संगठन




धनगढी / नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका कैलाली जिल्ला सचिव तारामान रावललगायतले संगठनबाट राजीनामा दिएका छन् ।

रावलसँगैकैलाली जिल्ला कार्य समिति सहसचिव बिक्रम खड्का र निवर्तमान सुदूरपश्चिम प्रदेश कार्य समिति संदिप साउँदले संगठनको साधारण सदस्य समेत नरहने गरि मंगलबार राजीनामा दिएका हुन् ।

‘पेशाकर्मीहरुको हकहित र अधिकारको रक्षाका साथै मुलुकमा शान्ति, लोकतन्त्र र मानव अधिकारका पक्षमा आवाज उठाउने मुख्य दायित्व ट्रेड युनियनहरुको हो भन्ने सम्बन्धमा हामी सबैलाई विदितै छ’ विज्ञप्तिमा भनिएको छ ।‘

यी कामहरु अहिलेको समयमा नेपाल निजामती कर्मचारी संगठनले सम्पादन गर्न सक्ने सम्भावना न्यून देखिएकोले उक्त संगठनको सांगठनिक पद सहित साधारण सदस्यबााट समेत राजिनामा गरेको घोषणा गर्दछौं ।’

सचिव रावलले भने ‘हिजोका दिनदेखि नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध भएर काम ग¥यौँ । यो संगठनले निजामति कर्मचारीको आकांक्षा,अक हितका लागि काम गर्न नसक्ने अवस्था देख्यौँ । त्यसैले अबका दिनमा कर्मचारीको हकहितमा काम गर्न सक्ने,विचार र मन मिल्ने संगठनसँग एकीकरण गरेर अगाडि बढ्छौँ ।’

उनले भने ‘अबको हाम्रो यात्रा विचार, भावना, कार्यशैली मिल्ने साथीहरुसँग एकता गर्दै स्वच्छ, सक्षम, सुदृढ, सशक्त कर्मचारीहरुको मनोभावना बुझ्ने संगठन निर्माणमा केन्द्रित हुनेछ ।’

उनले कर्मचारीहरुको हक हितमा खटिन चाहने पवित्र मन भएका सम्पूर्ण राष्ट्रसेवकज्यूहरुलाई यो परिवर्तन र उत्साहको मार्ग खुल्ला रहेको समेत बताए ।

राजीनामा दिएका उनीहरु तीनै एकीकृत सरकारी कर्मचारी संगठनमा समाहित भएका हुन । पछिल्लो समय नेपाली कम्युनिष्ट पार्टीप्रति सबैका आकर्षण बढी रहेका बेला विभिन्न पार्टी संगठन छोडेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेका लहर बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार