देउवापछिको विकल्पको बहसः डडेलधुरामा सुशील भट्टको चर्चा

डडेलधुरा / जेनेजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समयको मागअनुसार सन्तुलित र परिपक्व राजनीतिक भूमिका निर्वाह गरिरहेका छन्। पार्टी राजनीतिसँगै आम निर्वाचनको सन्दर्भमा पनि देउवाले आवश्यक परे त्यागको उदाहरण प्रस्तुत गर्न सक्ने क्षमता र इतिहास बोकेको नेताका रूपमा आफूलाई स्थापित गरिसकेका छन्।
डडेलधुरामा देउवापछिको विकल्पबारे चर्चा चलिरहँदा दुई नाम अगाडि आएका छन्। एकातर्फ देउवाका भतिजा तथा स्वकीय सचिव भानु देउवा छन् भने अर्कोतर्फ राष्ट्रियस्तरमा नीतिनिर्माण र विकास क्षेत्रमा परिचित व्यक्तित्व सुशील भट्ट छन्। भानु देउवालाई अघि सार्दा परिवारवादको आरोप उठ्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्। यस्तो अवस्थामा सुशील भट्टजस्तो बौद्धिक, गैर–विवादित र राष्ट्रिय अनुभव बोकेको व्यक्तित्वलाई उत्तराधिकारीका रूपमा अघि सार्न सके देउवाको राजनीतिक उचाइ अझै बढ्ने विश्लेषण भइरहेको छ।
सुशील भट्ट नेपालका नीतिनिर्माता, विकास तथा लगानी क्षेत्रका विज्ञ र पूर्व सरकारी उच्च अधिकारी हुन्। उनले नेपाल सरकारअन्तर्गतको लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दै ऊर्जा, जलविद्युत्, पूर्वाधार, पर्यटन तथा यातायात क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। यसअघि उनी राष्ट्रिय योजना आयोगका सदस्य समेत रहँदै देशको दीर्घकालीन विकास नीति र कार्यक्रम निर्माणमा संलग्न थिए।
२० वर्षभन्दा बढी समयदेखि विकास, सार्वजनिक–निजी साझेदारी , पूर्वाधार परियोजना र नीतिगत सुधारमा सक्रिय भट्टले ठूला राष्ट्रिय परियोजनाहरूको योजना, समन्वय र कार्यान्वयनमा प्रत्यक्ष अनुभव सँगालेका छन्। उनी दिगो आर्थिक विकास र लगानीमैत्री वातावरण निर्माणका पक्षधर मानिन्छन्।
शैक्षिक रूपमा उनी इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक र व्यवस्थापनमा स्नातकोत्तर हुन्। उनी काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा अध्यापनसँग पनि आबद्ध रहँदै आएका छन्। योगदानको कदरस्वरूप नेपाल सरकारले उनलाई प्रबल जनसेवा श्री पदक प्रदान गरेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, कांग्रेसको तुलनामा बलियो सांगठनिक संरचना भएको कम्युनिस्ट दलसँग प्रतिस्पर्धा गर्दै डडेलधुरामा विजय हासिल गर्न देउवा स्वयं उम्मेदवार नबन्ने र अरू कसैलाई टिकट दिने हो भने कांग्रेसको जित कठिन हुन सक्छ। तर दीर्घकालीन राजनीतिक सन्देश र संस्थागत नेतृत्व विकासका दृष्टिले सुशील भट्टजस्तो व्यक्तित्वलाई अघि बढाउन सके त्यसले फरक राजनीतिक बहस र सम्भावना खोल्न सक्ने देखिन्छ।




