सुदूरपश्चिमबाट एमाले केन्द्रीय नेतृत्वमा को–को मैदानमा

काठमाडौ/ भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रिया तीव्र बनेको छ। केन्द्रीय नेतृत्वका लागि उम्मेदवार मनोनयन दर्ता गर्ने क्रम जारी रहँदा सुदूरपश्चिम प्रदेशबाट पनि विभिन्न पदमा नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन्।
अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उभिएका छन्। १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन हुने यस महाधिवेशनमा सुदूरपश्चिमबाट पनि उल्लेख्य सहभागिता देखिएको छ।
संस्थापन पक्ष केपी ओली समूह बाट हालका सचिव लेखराज भट्ट उपमहासचिव पदका उम्मेदवार बनेका छन्। सुरुमा ओलीले भट्टलाई सचिव पदमा प्रस्ताव गरे पनि उनले अस्वीकार गरेपछि उपमहासचिवमा उम्मेदवारी तय गरिएको हो। यसअघि उपमहासचिवका लागि प्रस्तावित भानुभक्त ढकाललाई भने सचिव पदको उम्मेदवार बनाइएको छ। सुदूरपश्चिमबाट संस्थापन समूहमा पदाधिकारी तहमा उम्मेदवार बन्ने भट्ट एक्ला नेता हुन्।
अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल समूहबाट स्थायी कमिटी सदस्य कर्णबहादुर थापा सचिव पदका उम्मेदवार बनेका छन्। उनी पार्टीमा नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा राख्दै आएका नेतामध्ये पर्छन्।
केन्द्रीय सदस्यतर्फ संस्थापन समूहबाट खुला सदस्यमा लालबहादुर थापा, गणेश ठगुन्ना, दामोदर भण्डारीसहित ऐनबहादुर महर, हरदेव जोशी, झपटबहादुर बोहरा र राजेन्द्रसिंह रावल उम्मेदवार छन्।
युवा सदस्यतर्फ नरेश रोकाया, महिलातर्फ सन्तोषकुमारी शर्मा, कमलाकुमारी बोहरा र निरुदेवी पालको नाम परेको छ।
भूगोल खुला सदस्यमा पठानसिंह बोहरा, यज्ञबहादुर बोगटी, सहदेव बोगटी, लिलाधर भट्ट र चक्र मल्ल उम्मेदवार छन्। त्यस्तै, युवा सदस्यमा गोविन्द गिरी र महिलातर्फ कमला ओली, भागरथी सिंह तथा लिला भण्डारी छन्।
दलित सदस्यतर्फ अफिलाल ओखेडा र आशा विश्वकर्मा, थारु सदस्यमा गौरिशंकर चौधरी र कृपाराम राना तथा लेखा आयोग सदस्यमा ईश्वरीप्रसाद खरेल उम्मेदवार बनेका छन्।
ईश्वर पोखरेल समूहबाट सचिवमा कर्णबहादुर थापाको नाम तय भए पनि केन्द्रीय सदस्यमा को–को उम्मेदवार हुने भन्ने विषय भने अझै सार्वजनिक भइसकेको छैन। सो समुहबाट डेजी पाण्डेय, कमलप्रसाद तिमिल्सेना, द्धारिका न्यौपाने गजेन्द्रबहादुर शाही, बलदेव रेग्मी भूगोलबाट उम्मेदवार बन्ने चर्चा छ ।




