नेकपामा दिनहुँ आकर्षण बढेको छ : माधव नेपाल

धनगढी, मंसिर १२ गते/ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दलहरूमा दलालीकरण, ठेकेदारीकरण, व्यापारीकरण, भ्रष्टीकरण, अपराधीकरणको प्रवृत्ति चुलिएको उल्लेख गर्दै त्यसलाई अन्त्य गरेर नेपालको राजनीतिलाई स्वच्छ बनाउने कामको अगुवाई अब नेपाली कम्युनिष्ट पार्टीले गर्ने बताएका छन् ।
धनगढीमा भएको पार्टीको एकता सन्देश भेलामा बोल्दै नेता नेपालले सबै नेता उस्तै नभएको चर्चा गर्दे नेकपाले समाजवाद आत्मसात गर्दै देश विकास गर्न चाहेको पनि बताए ।
नेता नेपालले आफ्नो पार्टीप्रति दिनप्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको दावी पनि गरे ।
उनले देश निर्माण गर्ने अभियानमा अगाडि बढ्न सबैलाई आह्वान समेत गरे । नेता नेपालले देशमा समस्या खडा भएको बताउँदै त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने बताए ।
उनले प्रचण्ड र आफू प्रधानमन्त्री हुँदा सुदूरपश्चिममा धैरै राम्रा काम भएको दावी समेत गरे ।




