१९ मंसिर २०८२, शुक्रबार

संविधानको भविष्य गजेडीले होइन, जनताले तय गर्छन्



धनगढी, कात्तिक २९ गते/ नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मुलुकको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका लागि एमाले फेरि पनि सशक्त संघर्षमा उत्रिन तयार रहेको बताएका छन्।

शनिबार कैलालीको धनगढीमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले देश र जनताको हितमा एमाले कुनै पनि प्रकारको बलिदानबाट पछि नहट्ने स्पष्ट सन्देश दिए।

भट्टले हिन्दी फिल्मको प्रसिद्ध संवाद उद्धृत गर्दै भने, “टाइगर अभी जिन्दा है— त्यसैगरी एमाले पनि जिउँदो छ, लड्ने साहस र देशप्रतिको जिम्मेवारी सहित।”
उनका अनुसार प्रतिनिधिसभा पुनःस्थापनादेखि राष्ट्रहितको संवर्धनसम्मका हरेक चुनौतीमा एमाले दृढतापूर्वक अगाडि बढिरहेको छ।

उनले हालको राजनीतिक संघर्षलाई देशलाई स्वतन्त्र राख्ने कि कसैको अधीनमा पुर्‍याउने भन्ने मूल प्रश्नसँग जोड्दै एमाले राष्ट्रियताको पक्षमा अडिग भएर उभिएकोले बहु–दिशाबाट प्रहार भइरहेको टिप्पणी गरे।

सुशीला कार्की–सम्बन्धी आरोप
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीमाथि अप्रत्यक्ष प्रहार गर्दै भट्टले संविधानकै खिल्ली उडाउँदै प्रधानमन्त्री बनेको आरोप लगाए।
संविधान व्याख्या गर्ने जिम्मेवारी बोकेको व्यक्तिबाट नै संविधान हेला हुने प्रवृत्तिप्रति उनले आपत्ति जनाए।

“संविधानको निर्णय गजेडीले होइन, जनताले गर्छ”
संविधानका विषयमा गैरजिम्मेवार अभिव्यक्ति आउने क्रमबारे चिन्ता व्यक्त गर्दै उनले भने—
“जनताले ठूलो बलिदान गरेर बनाएको संविधान राख्ने कि फाल्ने भन्ने अधिकार कुनै गजेडी वा नसेडीलाई होइन, नेपाली जनतालाई मात्र छ।”
संविधान संशोधन वा परिवर्तन जनताकै निर्णय हुनुपर्नेमा उनले जोड दिए।

आन्दोलन’ कि ‘प्रतिक्रान्ति’
भदौ २३–२४ का घटनालाई लिएर उठिरहेका प्रश्नहरूबारे बोल्दै उनले त्यो ‘आन्दोलन’ नभई ‘प्रतिक्रान्ति’ भएको एमालेको धारणा दोहोर्याए।

देशको वर्तमान परिस्थितिमा जनताको मुद्दालाई बाङ्गो मोड दिने प्रयास भइरहेको उनको आरोप छ।

संसद पुनःस्थापना नभएसम्म आन्दोलन
शनिबारको प्रदर्शनलाई आन्दोलनको सुरुवात मात्रै भएको बताउँदै भट्टले संसद पुनःस्थापना नभएसम्म चरणबद्ध आन्दोलन जारी रहने घोषणा गरे। उनले जनताको म्यान्डेट पुनःस्थापित गर्न अर्को बलियो जनदबाब आवश्यक भएको उल्लेख गरे।

कार्यक्रममा भट्टअघि पार्टी पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी राना, पोलिटब्युरो सदस्य लिला भण्डारीलगायत नेताहरूले पनि सम्बोधन गरेका थिए।
जनसभाको अध्यक्षता एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगानाले गरेका थिए।

सभाअघि धनगढीको ट्राफिक चौकदेखि पार्क मोडसम्म सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको थियो।

पार्टी केन्द्रको निर्देशनअनुसार सोही दिन सुदूरपश्चिमका सबै जिल्ला सदरमुकाममा एकसाथ जनप्रदर्शन गरिएको थियो, जहाँ स्थानीय भूगोलका नेताहरूले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार