१९ मंसिर २०८२, शुक्रबार

हत्याका अभियुक्तलाई छुट दिएको आरोप, पीडित परिवार अधिकारकर्मीको शरणमा



धनगढी, कात्तिक २९ गते/ कैलालीको गोदावरी नगरपालिका–१० खमौराका शेरबहादुर चौधरीको हत्यामा संलग्न मुख्य अभियुक्तलाई जिल्ला अदालतले उन्मुक्ति दिएको भन्दै मृतक परिवारले मानवअधिकार संगठनहरूसँग सहारा मागेका छन्।

अदालतले डडेल्धुरा गन्यापधुरा–२ चम्सालका विकास मल्ललाई रिहा गरेपछि चौधरी परिवारले राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मा गुहार माग्दै निवेदन दर्ता गराएका हुन्। शुक्रबार मृतककी आमा पुतलीदेवी डङ्गौरा, भाइ रमेश चौधरी र बुहारी सलिना चौधरीले न्यायका लागि संयुक्तरूपमा निवेदन दिएका छन्।

पीडितका अनुसार असोज २३ गते राति करिब २ बजे विकास मल्ल र गोदावरी–१० का लक्की मल्लले घरको ढोका फोडेर शेरबहादुरलाई जबर्जस्ती बाहिर लगे र गोदावरी खोलानजिकै हत्या गरे। टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा घटनास्थलभन्दा डेढ किलोमिटर टाढा खोलाको किनारमै उनको शव भेटिएको थियो।

घटनापछि दुवै आरोपितलाई प्रहरीले नियन्त्रणमा लिए पनि कात्तिक १८ गते विकासलाई अदालतले उन्मुक्ति दिएको पीडित परिवारको दाबी छ। बुहारी सलिनाका अनुसार “यति गम्भीर अपराधमा अदालतले छुट दिएपछि हामी पूर्ण रूपमा अन्यायमा परेका छौँ।”

परिवारले निष्पक्ष छानबिन, उचित कानुनी प्रक्रिया र दोषीमाथि सजायको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिएका छन्। अदालतबाट छुटेपछि विकास विदेश भागिसकेको परिवारको भनाइ छ।

पीडित पक्षले प्रहरी र स्वास्थ्य संस्थामाथि पनि लापरवाहीको आरोप लगाएका छन्। उनीहरूको अनुसार—सरकारका प्रतिनिधि उपस्थित नभएको अवस्थामा मुचुल्का उठाइएको, पोष्टमार्टम रिपोर्टमा त्रुटि देखिएको तथा प्रारम्भिक अनुसन्धानमै पीडित पक्षको भनाइ अनदेखा गरिएको छ। पहुँचका आधारमा मुद्दालाई कमजोर बनाइएका कारण मुख्य दोषी छुटेको उनीहरूको आरोप छ।

घटनाबारे बुझ्दै राष्ट्रिय मानव अधिकार आयोग धनगढीका निमित्त प्रमुख झङ्कर रावलले विषय अदालतसम्म पुगिसकेकाले अन्तिम निर्णय न्यायिक प्रक्रियाबाट नै आउने बताए। तथापि, पीडित पक्षले उठाएका प्रश्न गम्भीर भएको उल्लेख गर्दै उनले भने, “मुचुल्का, पोष्टमार्टम तथा अन्य कागजात मागेर अध्ययन गर्छौँ, ज्ञापनपत्रका आधारमा घटनाको वास्तविकता के हो भनेर पनि बुझ्नेछौँ।”

अदालतको निर्णयबाट असन्तुष्ट मृतक परिवार अहिले संघर्ष समिति बनाएर निरन्तर आन्दोलनमा छन्।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार