१८ मंसिर २०८२, बिहीबार

रावल प्रचण्डतिर हिडेपछि ओलीमाथि थापाको प्रहार “परपीडक सोचले सबैलाई खरानी बनाउनेछ”



काठमाडौं, कात्तिक २६ गते/ एमाले स्थायी समिति सदस्य तथा पूर्वमन्त्री कर्णबहादुर थापाले पार्टीभित्रको “परपीडक सोच” प्रति कडा असन्तुष्टि जनाएका छन्। उनले त्यस्तो मानसिकताले अन्ततः सबैलाई “खरानी बनाउने” चेतावनी दिएका छन्।

थापाको यो टिप्पणी, एमालेले कारबाही गरेपछि भीम रावलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपामा समाहित हुने निर्णय गरेपछि आएको हो।

रावलको कदमप्रति संकेत गर्दै थापाले भने, “एमालेभित्रको अराजनीतिक सोचले नै हामीलाई यो अवस्थासम्म ल्याएको हो। अरूको अवसानमा आफ्नो भविष्य खोज्ने परपीडक प्रवृत्तिले अन्ततः सबैलाई खरानी बनाउनेछ।”

ओलीप्रति तीखा शब्द
थापाले सामाजिक सञ्जालमार्फत लामो भावनात्मक टिप्पणी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि स्पष्ट सन्देश दिएका छन्। उनले ओलीलाई “सोच र कार्यशैली सच्याउन” आग्रह गर्दै भने,

“नियोजित रूपमा पार्टीमा बस्न नदिने व्यवहार कुनै पनि दृष्टिले उचित हुन सक्दैन।”

पछिल्ला दिनमा ओलीसँग असन्तुष्ट देखिएका थापा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नजिकको समूहमा रहेका नेता हुन्।

रावलसँगको सम्बन्धमा नयाँ मोड
सुदूरपश्चिम राजनीतिमा लामो समय भीम रावलसँग प्रतिद्वन्द्वी रहँदै आएका थापा पछिल्ला दुई वर्षमा भने रावल नजिकिएका थिए। पार्टी फुट्ने अवस्थाबाट जोगाउन उनले रावललाई एमालेमै राख्ने प्रयास गरेको चर्चा पनि पहिले चलेको थियो।

थापाले सुदूरपश्चिमका सन्दर्भमा भने, “एमालेको पहिलो पुस्ता हामीसँग रहेन। पछिल्लो पुस्ताको ठूलो हिस्सा जोडिएको छैन, बरु जोडिन खोज्नेहरूलाई खेद्ने रहस्यमय सक्रियता देखिन्छ।”

आत्ममन्थन र आह्वान
थापाले आफू १६–१७ वर्षकै उमेरदेखि राजनीतिमा होमिएको स्मरण गर्दै भने,

“अभिमान र प्रतिष्ठाको लडाइँले देशलाई जलाएको यति ठूलो आगो पहिले कहिल्यै देखेको थिइन।”

उनले अन्त्यमा सबै कार्यकर्ता र समर्थकलाई सत्यको पक्षमा उभिन र पार्टीभित्र रहँदै सक्रिय रहन आह्वान गरे।

“देश, जनता र क्रान्तिलाई धोका नदिनुहोस्। सबैलाई एक बनाउने मेरो संकल्प यथावत् छ।”

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार