राष्ट्रिय सम्मानसहित विपिन जोशीको अन्त्येष्टि

कञ्चनपुर, कात्तिक ४ गते / कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीरको मङ्गलबार बिहान महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ ।
विपिनको अन्तिम श्रद्धाञ्जलीका लागि भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।
विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । राष्ट्रिय सम्मानका साथ चितामा दागबत्ती दिएर शवको अन्त्येष्टि गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । पार्थिव शरीरलाई बुवा महानन्द जोशीले दागबत्ती दिएका हुन् । भुजेलाघाटमा इजरायली राजदूत, जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय, आफन्त, परिवारजन, कूटनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुकको उपस्थित रहेको थियो ।
“सिक्दै सिकाउँदै” कार्यक्रमअन्तर्गत विसं २०८० असोजमा इजरायल गएका विपिनको हमास र इजरायलबिच भएको द्वन्द्वमा परी ज्यान गएको थियो । दुई वर्ष पहिले नै ज्यान गुमाएका विपिनको कूटनीतिक पहल हुन नसक्दा असोज २७ गते मात्रै परिवारलाई जानकारी गराइएको थियो ।
विपिनको परिवारलाई प्रदेश र स्थानीयतह द्वारा आर्थिक सहायता
सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीको परिवारलाई आर्थिक सहायता गर्ने निर्णय गरेको छ । सोमबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायता स्वरूप दुई लाख रुपियाँ सहयोग गर्ने बताका हुन् ।
यसैगरी, भीमदत्त नगरपालिकाले पनि विपिनको परिवारलाई सहायता गरिने जनाएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले विपिनको मृत्युले सिङ्गो राष्ट्रनै शोकमा डुबेको बताउनुभयो । नगरप्रमुख बोगटीले विपिनको परिवारलाई पालिकाबाट आवश्यक सहयोग प्रदान गरिने बताए । यसै गरी भीमदत्त नगरपालिका ३ का वडा अध्यक्ष गगन सिंह धामीले विपिनको सम्झनामा अक्षयकोष स्थापना गरिने बताएका छन् ।
वडा नम्बर ३ मा रहेका तीन वटै सामुदायिक विद्यालयहरूमा विपिनको सम्झनामा अक्षय कोष स्थापना गरिने वडा अध्यक्ष धामीले बताए । अध्ययनको सिलसिलामा गएका विपिनको विद्रोहीहरूले निर्ममता पूर्वक हत्या गरेपछि मुलुकले एक सबुत गुमाउनुपरेको बताउदै उनले विपिनको परिवारलाई आफूहरूबाट हुन सक्ने सक्दो सहयोग प्रदान गरिने जनाएका छन् ।
त्यस्तै, विपिन जोशीसहित अध्ययनको सिलसिलामा बाह्य मुलुक गएका नागरिकको सरकारले उचित सुरक्षा प्रदान गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । गरिबका छोराछोरीमाथि अन्याय हुँदा समेत सरकारमा बसेकाले कुनै कदम चाल्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको हो ।
भीमदत्त नगरपालिकाका स्थानीय मदन चन्दले यस क्षेत्रबाट निर्वाचित भएर गृहमन्त्री बनेका, परराष्ट्र मन्त्रालय सम्हालेका नेताहरूले गरिब परिवारका बालबच्चाको विषयमा आवश्यक पहल नचाल्दा अहिले यो स्थिति आएको बताए ।
सरकारले आवश्यक कुटनिटिक पहल गर्न नसक्नु, देशमा जिम्मेवार विहीन राजनिनिक दल हुँदा त्यसको सिकार विपिन हुनुपरेको भन्दै उनले आपत्ति जनाए । समयमै रिहाइका लागि आवश्यक कूटनीतिक पहल गर्न नसकेको भन्दै यसको जबाफदेही राजनीतिक दलका नेताहरू हुनुपर्ने स्थानीयहरुले बताएका छन् ।




