१९ मंसिर २०८२, शुक्रबार

विपिन जोशीप्रति प्रधानमन्त्रीको भावुक मन्तव्य, विपिन नेपालीका छोरा हुन् (फोटो फिचरसहित)



काठमाडौं, कात्तिक ३ गते/ विगत दुई वर्षदेखि हराइरहेका नेपाली विद्यार्थी विपिन जोशीको निधन पुष्टि भएपछि, आज काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री सुशीला कार्कीले अत्यन्तै भावुक मन्तव्य दिइन।

प्रधानमन्त्री कार्कीले विपिन जोशीप्रति श्रद्धासहित स्मरण गर्दै भनिन्, आज शोकको घडी छ। तीन करोड नेपालीका आँखा रसाएका छन्। विपिन जीवितै फेला पर्लान् भन्ने हामी सबैमा आशा थियो, तर त्यो आशा टुट्यो।

उनले विपिनको साहस र बलिदानलाई नेपाली युवाको प्रतीकका रूपमा चित्रण गर्दै भनिन, उनले चाहेको भए आफू बाँच्न सक्थे, तर साथीहरूलाई जोगाउने क्रममा अपहरणमा परे। यस्तो साहस विरलै देखिन्छ।

प्रधानमन्त्रीको भनाइमा विपिन जोशी केवल एक विद्यार्थी थिएनन्स उनी सम्पूर्ण नेपाली जनताको साझा सन्तान थिए। तीन अक्षरको नाम हो—विपिन। तर त्यो नाममा समेटिएको बहादुरी र मानवीयता कहिल्यै बिर्सन नसकिनेछ प्रधानमन्त्रीले थप भनिन्।

विपिनले आफ्नो जीवनको अन्तिम क्षणसम्म मानवीय मूल्य र मित्रताको रक्षा गरे। उनको आत्मबल र त्यागप्रति प्रधानमन्त्रीले गहिरो श्रद्धा व्यक्त गर्दै भनिन्, उनले आफ्नो देशको नाम त राखे नै, इजरायली जनताबाट पनि सम्मान पाए। त्यस्ता बहादुर छोरा जन्माउने आमाप्रति, उनको खोजीमा निरन्तर लागिरहनु भएकी बहिनीप्रति पनि म उच्च सम्मान प्रकट गर्छु।

प्रधानमन्त्री कार्कीले विपिन जोशीलाई ‘कहिल्यै अस्ताउन नसक्ने राष्ट्रिय नायक’ को रूपमा घोषणा गर्दै भनिन, विपिन अब भौतिक रूपमा हामीसँग छैनन्, तर उनका आदर्श र सम्झना सधैं हामीसँग रहनेछन्। उनी सम्पूर्ण नेपालको छोरा भएर सधैं जीवित रहनेछन् ।

कार्यक्रमको अन्त्यमा प्रधानमन्त्रीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार