वडा समितिमा महिलाः निर्णयमा अर्थपूर्ण, जिम्मेवारीमा समान साझेदारी

टीकापुर नगरपालिका–४ को वडा समितिले वडाका सदस्यहरूलाई जनताको सेवा गर्न समुदाय नै बाँडिदिएको छ । वडासदस्य रुपमती डगौरा थारुलाई ठानापर, तुलसादेवी विकलाई मौरनियाँ, दिपेन्द्र चौधरीलाई बाघमारा, प्रेमलाल चौधरीलाई इन्द्रैया गाउँका भैपरी कामको जिम्मा दिइएको छ । जूमलीपुर, कोदैपुर गाउँमा वडाध्यक्ष लालबीर चौधरी आफै जानुहुन्छ । जनताको सेवा गर्न चुनिएका यहाँका जनप्रतिनिधिप्रति नागरिक प्रसन्न छन् । त्यसैले यहाँका चार जना दोस्रोपटक चुनिएका हुन् ।
वडाध्यक्ष अनुपस्थित भई कार्यवहाक दिनुपर्दा चारै जनालाई बराबर पटक दिइने गरिएको छ । टोल विकास संस्था र महिलाका विषयमा धेरै कार्यक्रम हुने भएकाले सदस्य रुपमती डगौरा थारुलाई भ्याइनभ्याइ छ । रुपमती कार्यपालिका सदस्य र अन्य विषयगत समितिमा पनि रहेकाले दैनिक कार्य जिम्मेवारी बढी छ । काम, कर्तव्य अधिकार थाहा पाएर जिम्मेवारी वहन गर्दा सजिलो हुने सदस्य रुपमती डगौरा थारुको अनुभव छ । रुपमती २०७४ सालदेखि वडा सदस्य हुनुहुन्छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ मा कार्य विभाजन र कार्यसम्पादनको व्यवस्था छ । वडामा वडाध्यक्षले वडा समितिको अध्यक्षता गर्ने, वडा समितिका सदस्यहरूको काममा समन्वय र सहजीकरण गर्ने, वडाको विकास योजना बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने, वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यान्वयन गर्ने गराउने, सो को अनुगमन तथा अध्यावधिक समीक्षा गर्ने आफू अनुपस्थित हुने भएमा वडा समितिका सदस्यलाई जिम्मेवारी तोक्ने तोकेका अन्य कामहरू गर्ने व्यवस्था छ ।
ऐनमा भएको व्यवस्था अनुसार टीकापुर नगरपालिका–४ का जनप्रतिनिधिहरूले काम गरे जस्तै वडाध्यक्षहरूले कार्यवहाक दिदा सबै सदस्यहरूलाई बराबर अवसर दिने गरेका छन भने पाएको जिम्मेवारी पूरा गर्न सदस्य महिलाहरू पनि सक्षम देखिएका टीकापुर नगरपालिका–३ का वडाध्यक्ष ऋषि विक पनि बताउनुहुन्छ । कार्यवहाक वडाध्यक्षको जिम्मेवारी पाएमा खुशी लाग्ने टीकापुर नगरपालिका–६ का राजरानी चौधरी बताउनुहुन्छ । यस वडामा वडाध्यक्षको अनुपस्थितिमा राजरानी र भारती विकले कार्यवहाकको जिम्मेवारी सम्हाल्नु हुन्छ । राजरानी भन्नुहुन्छ, ‘जनताले बोलाएपछि न दिन न रात जुनसुकै बेला गाउँमा होस वा प्रहरीमा पुगिहाल्छौं, वडाका भगवानपुर, भर्तापुरजस्ता गाउँमा एउटै विवादमा पटकपटक जानुपर्छ ।’
जिम्मेवारीमा साझेदारी
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १८ ले वडा समिति वा वडा अध्यक्षले आफूलाई प्राप्त अधिकारमध्ये कुनै सदस्यलाई प्रत्यायोजन गर्न सक्ने व्यवस्था छ । यो व्यवस्था अनुसार वडा समितिका सदस्यहरूलाई काम तोकेर भएर सहजीकरण गर्नुपर्ने वडाको विकास योजना बजेट कार्यक्रम तयार गर्ने गर्न लगाउने र वडामा कार्यान्वयन हुने योजनाको जिम्मा भएकाले वडा सदस्यहरूमा यस्तो जिम्मेवारी पाउने गरेका छन् ।
योजना छनोटका लागि टोल भेला हुनु अघि महिला सदस्यहरू समुदायमा पुग्ने र विगतमा छुटेका र यस वर्ष आवश्यक योजनाहरूबारे समुदायका मानिसहरूलाई स्मरण गराउने गरेका वडा सदस्य तुलसादेवी विक बताउनुहुन्छ ।
स्थानीय सरकार सञ्चालन ऐनले वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला बालबालिका दलित अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अल्पसंख्यक सिमान्तकृत समुदायको सामाजिक आर्थिक उत्थान सम्बन्धी काम गर्ने, बालविवाह विवाह लंैगिक हिंसा छुवाछुत दाइजो छाउपडी मानव बेचबिखन जस्ता सामाजिक कुरीति र अन्धविश्वास अन्त्य गराउने र बालमैत्री वडा बनाउने जस्ता महिला लक्षित कार्यक्रमहरू वडाले गर्ने भनी निर्दिष्ट गरेको छ ।
टीकापुर नगरपालिका–४ ले सबै सदस्यहरूलाई जिम्मेवारी तोकिदिएको छ । टोल विकास संस्था र महिलाका क्षेत्रमा रुपमती डंगौराथारु, महिला सशक्तिकरण, सिमान्तकृत समदायका सवालमा तुलसादेवी विक, विवाद समाधान गर्नु परेमा प्रेमलाल चौधरी र विवादहरू वडामा समाधान नभई प्रहरी कार्यालय पुगेका वडाध्यक्ष लालबीर चौधरी र सदस्य दिपेन्द्र चौधरी खटिने भनी जिम्मेवारी बाँडेका छन् ।
यस्तै वडा नम्बर १ ले पनि वडालाई चार भागमा बाँडेर सदस्यहरूलाई समाज परिचालन र कार्यक्रमको जिम्मेवारी दिएको छ । निर्वाचित भएर आइसकेपछि ‘सबैले वडा कार्यालयमै बसेर काम गर्ने हो भन्ने थियो, दलित महिला केन्द्र नेपालले तालिम दिएपछि हाम्रा कामहरू वडासँगै समुदायमा पनि धेरै छन भन्ने थाह भएको छ । सदस्य महिलाहरू बैठकमा विषय केन्द्रित भएर बोल्न थालेको, मनोबल बढेको देखिएको छ,’ वडा नं १ का वडाध्यक्ष मोहन विक भन्नुहुन्छ, ‘क्षमता देखिएपछि काम बाँडेर दिने गरिएको छ, महिला र पुरुष सदस्यलाई कार्यबहाकको जिम्मेवारी दिदा सेवाग्राहीबाट कुनै गुनासो आएको छैन ।’ सेवाग्राही धेरै भएकाले वडा नम्बर १ का वडाध्यक्ष कर्मचारी सरह कागजात बनाउन लागि परेका देखिन्छन । वडा सदस्य प्रिमकला चौधरी पनि कार्यालय आएका दिन कार्यालयका तर्फबाट हुने सेवाग्राहीका काम गरिदिने गरेको बताउछिन् ।
निर्णयमा अर्थपूर्ण सहभागिता
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ अनुसार वडा समितिले वडाभित्रका योजना तर्जुमा सम्वन्धि ३ वटा विषय, तथ्यांक अध्यावधिक तथा संरक्षण सम्बन्धी ३ वटा विषय, विकास कार्यसम्बन्धी ४१ वटा विषयहरू, नियमन कार्यसम्बन्धी छ वटा विषयहरू सिफारिस तथा प्रमाणित गर्ने सम्बन्धी ३५ वटा कार्यहरू गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।
यस्तै, समावेशी सिद्धान्तले महिलालाई पदमा पु¥याए पनि निर्णय प्रक्रियामा कमजोर छन भन्ने गरिन्छ । तर पालिकाको वडा समितिमा ४० प्रतिशतको सङ्ख्यामा रहेका महिला वडा समितिमा हस्ताक्षर र गणपूरक सख्या पु¥याउन मात्रै होइन समुदायका प्रतिनिधिका रुपमा माग राख्ने र निर्णय दिन सक्ने भएका छन् ।
महिलाहरू लैगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण नीति बनाउन माग गरेका सदस्य महिलाहरू बजेट, कार्यक्रम बनाउदा त्यसै नीतिमा टेकेर बोल्ने र दवाव दिन थालेका छन् । वडाका काम र निर्णय प्रक्रियामा अब अर्थपूर्ण सहभागिता हुन लागेको टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विक बताउनुहुन्छ । यस्तै टीकापुरमा टोल विकास संस्था गठन तथा परिचालन गरिरहेको संस्था सहकर्मी समाजका नवराज जैसी टोल विकास संस्थाको परिचालन र सशक्तिकरणमा संस्थाको सदस्यको रुपमा र जनप्रतिनिधिका रुपमा वडासदस्य महिलाको अहम् भूमिका रहेको बताउनुहुन्छ ।
वडासमितिका बैठकहरूमा पनि महिला सदस्यको उपस्थिति राम्रो रहेको छ । टीकापुर नगरपालिका १ नम्बर वडाको २०७९ साउनदेखि २०८२ असारमसान्तसम्म ३२ पटक बैठक बसेकोमा वडा सदस्य प्रिमकला ३१ बैठकमा उपस्थित हुनुहुन्छ । यस्तै वडा नं ४ मा २०७९ जेठ देखि २०८२ असनरसम्म ४८ बैठक बसेकोमा तुल्सादेवी विक तीन वटा र रुपमति ९ वटा बैठकमा अनुपस्थित हुनुहुन्छ । वडा कार्यालयको निर्णय पुस्तिका अनुसार वडा कार्यालयको आफ्नै र वडा समितिले अन्य निकाय, संस्थाका लागि गरी दुई थरी बैठक गर्ने गरेको छ । कार्यपालिका सदस्यसमेत रहनु भएकी रुपमति वडा समितिको सबै बैठकमा नियमित उपस्थित भएपनि अन्य बैठकमा अनुपस्थित देखिनु भएको छ ।
शैक्षिक योग्यताको अभावमा स्थानीय जनप्रतिनिधिहरू कानुनले दिएका सबै अधिकार प्रयोग गर्न सक्ने अवस्थामा पुगेका छैनन् भने पुरुष जस्तै महिला राजनीतिमा नटिक्ने नदोहोरिने भएकाले अनुभवको खाँचो भने झल्किएको छ ।




