१९ मंसिर २०८२, शुक्रबार

एमालेको होस खुलोस्, समयअनुकूल नबदलिने दल डाइनोसर बन्छन्



नेकपा (एमाले ) , नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) नेपाली राजनीतिका मेरुदण्ड हुन्। लामो समयदेखि देशको राजनीतिक परिवर्तन र देश निर्माण प्रक्रियामा प्रभावशाली भूमिका खेलेका यी दलहरूप्रति आज पनि जनताले आशाको दृष्टिले हेर्ने गर्छन्। तर समय बदलिँदैछ, र ती दलहरूसमेत बदलिन सक्नुपर्छ। आजको मुख्य सवाल नै त्यही हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अबको महाधिवेशनपछि सक्रिय राजनीतिबाट विदा लिने संकेत दिएका छन्। यो नेतृत्व हस्तान्तरणको सकारात्मक संकेत हो। अब कांग्रेसभित्र नयाँ पुस्ताले आफ्नो स्थान बनाउने अवसर पाउने अपेक्षा गर्न सकिन्छ।देउवाले कार्यवहाक समापतिको जिम्मेवारी दिनु पनि सकरात्मक कुरा हो ।

तर अर्कोतर्फ, एमाले अध्यक्ष केपी शर्मा ओली भने अझै पुरानै शैली, सोच र प्रवृत्तिमा अडिग देखिन्छन्। पार्टीभित्रको आवाज, नयाँ पुस्ताको माग र आमजनताको चाहनालाई सम्बोधन गर्न तर्फ एमालेले ध्यान नदिएको जस्तो देखिन्छ। माओवादीले समेत केही अगाडि बढेर मौजुदा कमिटीलाई आयोजकमा परिणत गरेको छ । प्रचण्ड सायद नेतृत्वमा नबस्ने सम्भावना देखिएको छ ।

अहिलेको अवस्थामा सबै राजनीतिक दलहरूमाथि गम्भीर प्रश्न उठिरहेको छ—के यी दलहरूले समयअनुसार आफूलाई परिवर्तन गर्न सक्लान ? इतिहासले देखाएको छ कुनै समय डाइनोसरहरू पृथ्वीका सबैभन्दा शक्तिशाली जीव थियो । तर बदलिँदो वातावरणसँग आफूलाई अनुकूल बनाउन नसक्दा ती विलुप्त भए।

यदि कांग्रेस, एमाले वा माओवादीजस्ता दलहरूले पनि नयाँ पुस्ताको माग अनुसार, सुशासन र पारदर्शिता जस्ता विषयमा गम्भीर सोच राखेनन् भने उनीहरूको अवस्था पनि डाइनोसरसरह हुन सक्छ ।

कांग्रेस र माओवादीले नेतृत्व हस्तान्तरणको संकेत दिएर जनतामा आशा जगाएको छ । अब एमालेले पनि बुधबारबाट सुरु हुने आफ्नो बैठकमा गम्भीर आत्ममूल्यांकन गर्नुपर्छ। शुसासन, जवाफदेहिता, र युवा नेतृत्वको सुनिश्चितता—यी अब भाषणका विषय होइनन्, व्यवहारमा उतार्नुपर्ने यथार्थ हुन्।

राजनीतिक दलहरूले जनताको भावनालाई बुझ्न सकेनन् भने जनताले पनि विकल्प खोज्न पछि पर्दैनन्। समयको माग यही हो, दलहरुले आफ्नो अहिलेको अवस्थामा व्यापक परिवर्तन गर्न अनिवार्य छ । एमालेको केन्द्रीय समितिको बैठकले युगान्तकारी निर्णय लिन सकोस । हरेक दल र व्यक्ति आफ्नो र दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशका लागि सोच्न पर्ने इतिहासकै कठिन अवस्था मनन गरेर अघि बढ्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार