विपिनको अन्तिम सत्य: गाजामा हराएको आशा अब शोकमा परिणत

धनगढी, असोज २७ गते/अन्ततः गाजास्थित हमासको नियन्त्रणमा परेका नेपाली युवक विपिन जोशीको मृत्यु पुष्टि भएको छ।
इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सोमबार साँझ हमासले फिर्ता गर्न लागेको चार जना मृत बन्धकका सूचीमा विपिनको नाम पनि रहेको जानकारी दिए।
हमासले अन्तर्राष्ट्रिय रेडक्रसमार्फत् इजरायललाई हस्तान्तरण गर्न लागेको ती शवहरूमा विपिनसहित गाइ इलौज, योस्सी शराबी र ड्यानियल पेरेट्ज रहेका छन्।
योस्सी शराबीको भने इजरायली सेनाकै आक्रमणमा मृत्यु भएको पुष्टि भएको छ। उनी रहेको भवनमाथि वायुसेनाले आक्रमण गर्दा त्यो ध्वस्त भएको र त्यसकै भग्नावशेषमा उनको शव भेटिएको बताइएको छ।
इजरायली सेना अनुसार, गाइ इलौजको मृत्युबारे उनको परिवारलाई अक्टोबर ७ को हमलापछि ५६ दिनमा जानकारी दिइएको थियो।
प्रवक्ता डेफ्रिनले बाँकी २४ जना मृत बन्धकबारे विस्तृत विवरण दिन अस्वीकार गरेका छन्।
यसैबीच, हमास र इजरायलबीचको हालैको युद्धविराम र बन्दी–कैदी सटासटी सम्झौता अन्तर्गत गाजाबाट रेडक्रसको गाडीले शवहरू ल्याउँदा, सयौं प्यालेस्टिनी नागरिकहरू दक्षिणी गाजाका सडकमा भेला भएका थिए।
हमासले भने गाजामा भएका भीषण आक्रमणपछि धेरै शवहरू मलबा र भग्नावशेषमा पुरिएको हुनसक्ने बताउँदै, सबै शव तुरुन्त भेटिन नसक्ने जनाएको छ।
इजरायली स्रोतहरूका अनुसार, आइतबार रातिको ब्रिफिङमा पहिलो दिनमै यति कम शव फिर्ता हुने संकेत गरिएको थिएन। अपेक्षा भने उल्लेखनीय संख्यामा मृतकहरू फिर्ता हुने थियो।




