१८ मंसिर २०८२, बिहीबार

जेनजी आन्दोलन : यादव जोशीले प्रहरीमा आफूमाथि अनुसन्धानको माग गरे



काठमाडौ, असोज २७ गते/ पछिल्लो जेनजी आन्दोलनका क्रममा तोडफोडमा संलग्न रहेको आरोप लगाएकाले डडेलधुराको गन्यापधुरा–२ का यादव जोशीले आफूमाथि अनुसन्धान गर्न आग्रह गर्दै प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका छन्।

काठमाडौंको नक्शालस्थित प्रहरी प्रधान कार्यालयमा शुक्रबार निवेदन बुझाउँदै उनले आफूमाथि अनुसन्धान गरी कुनै आपराधिक गतिविधि फेला परे कारबाही गर्न आग्रह गरेका छन्।

जोशी सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशीका सहोदर भाइ हुन् र उनी त्यहीँको सचिवालयमा कार्यरत छन्।

जेनजी आन्दोलनका बेला सुदूरपश्चिम प्रदेश सभा कार्यालयमा भएको तोडफोड र आन्दोलनकारीले प्रदेश सभाको गजुर खसालेको विषयमा कसैले फोटो खिचेर बदनाम गरेको आरोप उनले लगाएका छन्।

उनले निवेदनमा भनेका छन्, ‘मलाई बदनाम गर्ने उद्देश्यले म तोडफोडमा संलग्न भएको भनेर गलत प्रचार भइरहेको छ, त्यसैले यस घटनाको छानबिन गरी मलाई सफा गर्न र अपराध प्रमाणित भए कारबाही गर्न आग्रह गर्दछु।’

कैलाली प्रहरीले निवेदन लिन नमानेपछि उनी काठमाडौं आएर प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका हुन्।

यादव जोशी सामाजिक संस्था ‘बोलन्या थली’ मार्फत सामाजिक काम पनि गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार