१९ मंसिर २०८२, शुक्रबार

दार्चुलामा जिप दुर्घटना एकको ज्यान गयो, नौ घाइते



दार्चुला/ दार्चुला जिल्लाको महाकाली नगरपालिका–६ निसिलमा आइतबार दिउँसो एक यात्रुबाहक जिप दुर्घटना हुँदा एक जनाको दुःखद निधन भएको छ भने नौ जना घाइते भएका छन्।

बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको सो जिप महाकाली नगरपालिका–९ स्थित साकारबाट यात्रुहरू बोकेर निसिलतर्फ जाँदै थियो। साकारमा आयोजित क्रिकेट प्रतियोगिता हेरेर घर फर्किँदै गरेका यात्रुहरू बोकेको सो जिप वडा नम्बर ६ को बजगाडी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ।

दुर्घटनामा परेर स्थानीय ३५ वर्षीय नरेशबहादुर पालको घटनास्थलमै गम्भीर अवस्थामा उद्धार गरिएको थियो। तर अस्पताल लैजाँदै गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

जिपमा जम्मा १२ जना सवार थिए। तीमध्ये नौ जना घाइते छन् भने दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल खलंगा, दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गौरव महतले जानकारी दिए ।

घाइतेहरूको अवस्था कस्तो छ भन्ने विवरण आउन बाँकी छ।

स्थानीयहरूका अनुसार जिप अनियन्त्रित भई सडकबाट तल खसेको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार