१९ मंसिर २०८२, शुक्रबार

एमाले नेता झपट रावलको ओलीप्रति कटाक्ष : अब बहानाबाजी गर्न जरुरी छैन्



धनगढी/ नेकपा (एमाले) का केन्द्रीय सदस्य झपट रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै अब बहानाबाजीको राजनीति छाडेर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको अभिव्यक्तिमा रावलले एक जिम्मेवार अभिभावकको उदाहरण दिँदै लेखेका छन्, “एउटा असल अभिभावकले सन्तान र परिवारलाई उज्ज्वल भविष्य सुम्पेर जान्छ, त्यस्तै कुशल राजनीतिज्ञले कमजोर होइन, सक्षम उत्तराधिकारी र सबल राष्ट्र सुम्पेर जान्छ।”

उनको भनाइमा, नेतृत्वले व्यक्तिगत विषय गौण बनाएर जनविश्वासमा केन्द्रित हुनुपर्ने बेला आएको छ। “अब बहानाबाजी गरेर होइन, निर्मम आत्मसमीक्षामार्फत अघिल्ला गल्तीहरूबाट पाठ सिक्दै जनआस्था भंग हुने कार्य दोहोरिन नदिनुपर्ने आवश्यकता छ,” उनले स्पष्ट पारेका छन्।

रावलले गलत निर्णय वा गतिविधिहरूलाई सामूहिक जिम्मेवारीको रूपमा स्वीकार गर्दै सुधारको बाटो समात्नुपर्ने धारणा राखेका छन्। उनले भनेका छन्, “गल्ती सबैका जिम्मेवारीअनुसार भएको हो भन्ने आत्मबोध गर्दै जनआस्थामा आँच आउने कार्य नदोहोरिने प्रतिबद्धता आवश्यक छ।”

उनको अन्त्यमा जोड थियो—एमालेको आन्दोलनलाई जीवन्त राख्न साझा प्रतिबद्धता, इमानदार समीक्षा र जनतासँगको सम्बन्ध पुनः बलियो बनाउनु नै एकमात्र विकल्प हो।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार