१८ मंसिर २०८२, बिहीबार

देश गफले होइन, विचारले चल्छ – नेता कर्ण थापाको टिप्पणी



धनगढी/ नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै देश सञ्चालन गफ र धम्कीले सम्भव नहुने टिप्पणी गरेका छन्।

जेन–जी आन्दोलनपछिको ओलीको पहिलो सार्वजनिक सम्बोधनको भोलिपल्ट सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले भनेका छन्– “देश चलाउन विचार चाहिन्छ, उडन्ते भाषण र हावादारी आश्वासनले होइन। अहिले बोलीमा परिपक्वता र जिम्मेवारीको भावना झल्कन जरुरी छ।”

थापाले इतिहासको दृष्टान्त दिँदै थपे, “संसार जित्न उदाएका हिटलर अन्ततः आफैंले बनाएको बंकरमा आत्महत्या गर्न पुगे। नेपालको इतिहासमै शक्तिशाली मानिने भिमसेन थापा र जङ्गबहादुरको अन्त्य समेत शोकपूर्ण रह्यो। शक्तिको घमण्ड टिकाउ हुँदैन।”

उनले स्पष्ट रूपमा संकेत गरे– शक्ति होइन, विचारको नेतृत्वले मात्र राष्ट्र निर्माण सम्भव छ। “कुनै पनि किसिमको प्रभुत्व देखाएर होइन, सबैलाई समेट्ने विचार र दृष्टिकोणबाट मात्र देश सुदृढ बन्छ,” थापाको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार