दसैं मनाउन धमाधम घर फर्कन थाले परदेशी

नेपालीको महान् पर्व दसैं नजिकिँदै गर्दा रोजगारीका लागि भारत गएका परदेशीहरू घर फर्किन थालेका छन् ।
स्वदेशमा रोजगारी नपाएपछि गुजारा चलाउन भारतका विभिन्न सहर–बजारमा मजदुर गर्दै आएका नेपाली मजदुर घर फर्किन लागेका हुन ।
जेनजी आन्दोलनका कारण एक हप्ता बन्द रहेको कैलालीको त्रिनगर भन्सार नाका खुलेसँगै भारतमा काम गर्दै आएका मजदुर स्वदेश फर्किन लागेको लर्को देखिएको छ ।
गुजारा चलाउनका लागि छिमेकी मुलुक भारत गएका सुदूरपश्चिमसहित नेपाली मजदुर अहिले झोलीझिम्टी बोकेर स्वदेश फर्किएका छन् ।
सुदूरपश्चिमको प्रमुख नाका कैलालीको त्रिनगर भन्सार नाकामा यतिबेला दशैं तिहार मनाउन घर आउने परदेशीको लर्काे देखिन्छ । अछामको बान्नीगढीजैगढ गाउँपालिका पूर्णबहादुर वडले परिवारसहित दशैं मनाउन घर आएको बताए ।

उनी दुई वर्ष पहिले बालबच्चा र श्रीमतीसहित रोजगारीका लागि भारत गएको बताए । नेपालीको सबैभन्दा ठूलो पर्व दसैं नजिकिएसंगै उनी जस्तै रोजगारीका लागि भारत गएका नेपालीहरू परिवारसहित घर फर्किरहेका छन् ।
दसैं नजिकिँदै गर्दा नेपाल–भारत सीमा क्षेत्रमा दसैं मनाउन घर फर्किने परदेशीको ताती छ । दसैंको उमंग बोकेर रोजीरोटीका लागि भारतको पुणे सहर गएकाका डोटीका खड्कबहादुर साँहुले घर फर्किएको बताए ।
उनले दसैं मनाउन घर फर्किएको र दसैंतिहार मनाएर फेरि भारतमै फर्किने उनको भनाई छ । सुदूरपश्चिमका पहाडी जिल्लाबाट रोजगारीका लागि भारत जानेको संख्या ठुलो छ ।
पहाडी जिल्लाका ग्रामीण बस्तीबाट अधिकांश मानिस कमाइका लागि भारत जाने गरेका छन् ।
दसैंतिहार जस्ता पर्व मनाउन यतिबेला परदेशीहरू घर फर्किदा सीमा क्षेत्र त्रिनगर नाकामा घुइँचो नै लाग्छ । दसैंतिहार मनाउन आएका परदेशीका कारण गाउँघरमा दसैंको रौनक छाएको छ । अहिले फर्किएका नेपालीहरू खेतीपाती लगाएर भारत जाने र दसैंतिहारमा घर फर्किने गर्छन् ।




