१९ मंसिर २०८२, शुक्रबार

विद्याबारे ओलीको संकेत: छलफल गर्ने ठाउँ छ




गोदावरी (ललितपुर) / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति तथा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता विषयमा छलफल गर्न अन्य उपयुक्त निकायहरू रहेको संकेत गरेका छन्।

ललितपुरको गोदावरीमा शुक्रबार सुरू भएको विद्यान महाधिवेशनको उद्घाटन गर्दै उनले भने, “केही कुरा अनावश्यक रूपमा संवेदनशिल बनाएर उठाइएका छन्। यी कुरा विधि, विधान र विधान संशोधनसँग सम्बन्धित छैनन्। ती कुरा सचिवालय, स्थायी समिति, पोलिटव्युरो वा केन्द्रीय कमिटीमा छलफल हुन्छन्।”

अध्यक्ष ओलीले पार्टीभित्र अनुशासन कमजोर हुँदै गएको, बेलगाम बन्ने, आचरणमा कमजोरी देखिने र सक्रियता घटाउने प्रवृत्ति बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गरे।

उनले भने, “विभाजनको समयमा एमाले बचाउन पुरुषको योगदान त छ तर त्योभन्दा ठूलो योगदान महिलाहरूको छ। त्यसैले म महिलाहरूलाई विशेष धन्यवाद दिन चाहन्छु।”

अर्को प्रसंगमा, प्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेस र एमालेले एक अर्काको समर्थन नगरे सुख प्राप्त नभएको उल्लेख गरे। उनले भने, “१४ महिनाअघि सम्म हामीसँग म्याजिक नम्बर थियो, जादूको छडी थियो भन्ने अवस्था एमालेले तोडेको हो।”

उनले आफ्नो सरकार बनेपछि बेथिति र अराजकतामा रोक लागेको दाबी गरे।

त्यस अवसरमा उनले लिपुलेकबारे चीन भ्रमणका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङसँग विमति राखेको जानकारी पनि सार्वजनिक गरे।

शुक्रबारै सुरू भएको बन्द सत्रमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन उपमहासचिव प्रदीप ज्ञवाली र उपाध्यक्ष विष्णु पौडेलले विद्यान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन्।

अधिवेशनमा स्थायी समिति सदस्य कर्णबहादुर थापाको फरक मत पनि प्रस्तुत गर्न दिने निर्णय भएको छ।

कार्यक्रम स्थल बाहिर विद्या भण्डारीको सन्देश पत्र पनि वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार