१९ मंसिर २०८२, शुक्रबार

लिपुलेकमा ठूला देशको दादागिरी रोकौं



लिपुलेक—नेपालको उत्तरपश्चिमी सीमामा अवस्थित एउटा सामरिक, भौगोलिक र ऐतिहासिक महत्वको क्षेत्र हो, जुन नेपालको दार्चुला जिल्लाभित्र पर्ने प्रमाणित भूमी हो। तर, पछिल्लो केही वर्षदेखि यस क्षेत्रमा भारत र चीनको आपसी समझदारीले नेपाललाई बेवास्ता गर्दै गरिएको निर्णयहरू गम्भीर चिन्ताको विषय बनेका छन्। खासगरी भारतले यो क्षेत्रमा सडक निर्माण गर्दै व्यापारिक र सामरिक गतिविधिहरू बढाउनु र चीनले त्यसलाई मौन समर्थन गर्नु नेपाली सार्वभौमिकतामाथि खुलेआम हस्तक्षेप हो।

भारत र चीनबीच सन् २०१५ मा लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको लागि सहमति हुनु, र पछि भारतले एकतर्फी रूपमा सडक विस्तार गर्नु, नेपालको सिमा नक्सा अद्यावधिक भएपछि पनि व्यवहारमा त्यसको बेवास्ता गर्नु—यी सबै कार्यले नेपालमाथि दादागिरी देखाएको स्पष्ट संकेत दिन्छ। अझ चिन्ताजनक त के छ भने—चीनजस्तो छिमेकी, जससँग नेपालले विगतमा सन्तुलित सम्बन्ध राख्दै आएको थियो, उसैले पनि भारतको स्वार्थमा नेपालको भूमीलाई नजरअन्दाज गर्दै समर्थन जनाउनु नेपालमाथिको दोहोरो अन्याय हो।

नेपालले २०७७ सालमा नयाँ नक्सा सार्वजनिक गरेर लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भूमि घोषणा गरेको थियो, जुन कदमले राष्ट्रिय एकताको बलियो सन्देश दिएको थियो। तर त्यतिबेला देखिएको राजनीतिक ऐक्यबद्धता समयसँगै कमजोर हुँदै गएको देखिन्छ। यस्ता महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा सरकारले निरन्तर दबाव र अन्तर्राष्ट्रिय कूटनीतिक पहल जारी राख्नुपर्ने हो। दुर्भाग्यवश, व्यवहारमा त्यो सक्रियता र दृढता देखिएको छैन।

अबको आवश्यकता के हो भने—यो विषयलाई राष्ट्रभक्तिको नाममा केवल भावनात्मक नारामा सीमित नगरी, प्रमाण, कूटनीति, कानूनी आधार र अन्तर्राष्ट्रिय सहयोगमार्फत अघि बढाउनु हो। भारत र चीनजस्ता शक्तिशाली मुलुकहरूसँगको सम्बन्ध सन्तुलित राख्दै पनि आफ्नो सार्वभौम हकको रक्षा गर्न सकिन्छ—यदि हामी स्पष्ट नीति, एकताबद्ध राजनीतिक नेतृत्व र जनताको समर्थनमा अघि बढ्न सक्यौं भने।

नेपालका सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी वर्ग, संचारमाध्यम, युवा र आम जनताले राष्ट्रहितमा बोल्नुपर्ने बेला यही हो। लिपुलेक केवल भू(भागको विषय होइन, यो हाम्रो स्वाभिमान, अस्तित्व र भविष्यको सवाल हो।

नेपाल सरकार र सम्पूर्ण नेपाली समाजले यो प्रश्नमा कायरता होइन, साहस र विवेक देखाउनुपर्छ। ठूला देशहरूको दादागिरी रोक्न सक्ने शक्ति हामीभित्र छ—अहिलेको खाँचो हो त्यो शक्ति एकतामार्फत उजागर गर्नु हो । अनुमोदन दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार