१९ मंसिर २०८२, शुक्रबार

चीनको अदम्य यात्राबाट नेपालले के सिक्न सक्छ




काठमाडौं/ “डेढ, दुई दशकअघि चीनको एउटा गाउँमा पुगेको थिएँ, त्यो बेला त्यो गाउँ हाम्रै कुनै दुर्गम गाउँजस्तै थियो। तर अहिले म त्यहाँ पुगेँ, विश्वास गर्नै गाह्रो विकास देखिएछ,” — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आइतबार सोल्टी होटलमा आयोजना भएको एक विशेष समारोहमा अनुभव सुनाउँदै सोधे, “आखिर चीनले यस्तो चमत्कारिक विकास कसरी सम्भव बनायो ?”

मञ्चमा चीनका लागि नेपाली राजदूत छन् सोङ थिए। पन्तको भनाइ सुनेर उनी र अन्य चिनियाँ शिक्षकहरू हल्का मुस्कानसहित श्रोतातर्फ हेरे। जब मन्त्री पन्तले चीनलाई “विश्वकै ठूलो आर्थिक शक्ति” भनेर सम्बोधन गरे, हल तालीको गडगडाहटले गुञ्जियो।

फासीवादविरुद्धको जितको ८०औं स्मृति
चिनियाँ दूतावासले जापानी हस्तक्षेप र फासीवादविरुद्धको लडाइँमा विजय भएको ८०औं वर्षको स्मृतिमा आयोजना गरेको कार्यक्रम त्यो थियो। कार्यक्रममा दुई देशबीचको सम्बन्ध, इतिहास र भविष्यबारे विशेष चर्चा भयो।

‘नेपाल–चीन सम्बन्ध चुम्बकजस्तै’
सम्बोधनका क्रममा मन्त्री पन्तले नेपाल र चीनबीचको सम्बन्धलाई ‘चुम्बकजस्तै’ संज्ञा दिए। चीनको साहस, योजना र लगनशीलताबाट नेपालले धेरै सिक्नसक्ने उनको भनाइ थियो। “चीन विस्तारै विश्व व्यवस्थाको निर्णायक शक्ति बन्दैछ,” मन्त्रीले जोड दिँदै भने, “नेपालको विकासमा चीनले पुर्याएको सहयोग अन्य देशले शायद सकेका छैनन्।”

शिक्षा क्षेत्रमा पनि चीनसँग सहकार्यले ठूलो परिवर्तन ल्याउन सक्ने धारणा मन्त्री पन्तको थियो। उनले भने, “विश्वका शीर्ष विश्वविद्यालयको सूचीमा धेरै चिनियाँ संस्थाहरू छन्, हाम्रा विश्वविद्यालयहरूले तिनीहरूसँग सहकार्य गरेर फाइदा लिनसक्छन्।”

मन्त्री पन्तले माओ, देंग र सी जिनपिंगको योगदानले चीन जिडिपीमा दोस्रो भए पनि जनताको जीवनस्तर, क्रमशक्तिका आधारमा चीन संसरारकै पहिलो देश रहेको चर्चा गरे । उनले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहने र रहिरहने छ भने ।

म मन्त्री हुँ, तर पहिले पत्रकार थिएँ
पन्तले आफ्नो विगतको यात्रा पनि स्मरण गरे। “म अहिले मन्त्री छु, तर कहिल्यै पत्रकार र सम्पादक थिएँ,” उनले सुनाए, “त्यस बेला मैले चीन र नेपालको सम्बन्ध, साम्राज्यवादविरोधी संघर्ष र चीनको भूमिकाबारे लेख लेख्थेँ — आज पनि ती सम्झना ताजा छन्।”

चीन : शान्तिपूर्ण विकास र दृढ संकल्पको प्रतीक
कार्यक्रममा चिनियाँ राजदूत छन् सोङले चीनको शान्तिपूर्ण विकास र ऐतिहासिक अनुभवबारे धारणा राखे। “चीन सधैँ शान्तिपूर्ण विकासको मार्गमा अघि बढेको छ,” उनले बताए, “हामीले पनि युद्ध भोगेका छौं — विशेषतः जापानी हस्तक्षेप — तर त्यही अनुभवले हामीलाई शान्तिको महत्व बुझायो।”

राजदूतको एक गहिरो भनाइ उल्लेखनीय रह्यो — “चिनियाँको डायरीमा आत्मसमर्पण भन्ने शब्द नै हुँदैन।” उनले बताए, “जापानी तोपसँग पनि चिनियाँ जनता कहिल्यै झुकेनन्। आत्मसमर्पण कहिल्यै सोचेनन्, किनकि आशा र भरोसा कायम राख्नु उनीहरूको संस्कार हो।”

विद्यार्थी प्रतियोगितामा चिनियाँ आत्मा र नेपाली जोश
कार्यक्रमको अर्को आकर्षण थियो — राजधानीका दर्जन बढी विद्यालयबीच भएको पाँच विधामा प्रतिस्पर्धा स् नृत्य, गीत, चित्रकला, वक्तृत्वकला र भेषभूषा। विजेता विद्यार्थीहरूलाई मन्त्री पन्त र राजदूत छन् सोङले संयुक्त रूपमा पुरस्कृत गरे।

विद्यार्थी मात्र होइन, अभिभावकहरू पनि खुशी देखिन्थे। युलेन्स स्कुलका अभिभावक सुबोध अधिकारी भन्छन्, “विद्यार्थीलाई अन्तर्राष्ट्रिय परिवेशसँग जोड्ने यस्तो कार्यक्रम नेपालमै दुर्लभ छ। चीनले विद्यार्थीको सोच फराकिलो बनाउने ढोका खोलेको छ।”

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार