१८ मंसिर २०८२, बिहीबार

कैलाली कारागार तनाव: कैदीको नियन्त्रण कायमै



धनगढी / कैलाली कारागारमा भएको हिंसात्मक झडपको ३६ घण्टापछि पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन। झडपमा एक जनाको मृत्यु र ४९ जना कैदीबन्दी घाइते भएका छन्। घटनापछि कारागार बाहिर कैदीबन्दीका आफन्तहरूको भीड लागिरहे पनि प्रशासनले उनीहरूलाई गेटबाहिरै रोकेको छ।

१५० कैदी राख्ने क्षमता भएको कैलाली कारागारमा झन्डै ७०० जना कैदी थुनिएको अवस्थामा झडप भएको हो। भीडभाड, अव्यवस्था र पुरानो विवाद चर्किएर हिंसात्मक रूप लिएको प्रारम्भिक अनुमान गरिएको छ। कैदीहरूले भित्रबाट ताला लगाएर थुनुवा कक्षलाई पूर्ण रूपमा नियन्त्रणमा लिएका छन्, जसका कारण सुरक्षाकर्मीहरू भित्र प्रवेश गर्न सकेका छैनन्।

कारागारको आन्तरिक अवस्थाबारे प्रशासनले अझै आधिकारिक विवरण सार्वजनिक गर्न सकेको छैन। यता, घाइतेको अवस्थाबारे जानकारी नपाउँदा आफन्तहरू चिन्तित छन्। उनीहरू कारागार पुगेर आफन्तको अवस्था थाहा पाउन प्रयास गरिरहेका छन्।

जिल्ला प्रशासन, प्रहरी, र कारागार कार्यालयले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् तर तनाव घट्न सकेको छैन। सुरक्षाका लागि कारागार क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ।

स्थानीय प्रशासनले परिस्थितिलाई संवेदनशील भन्दै भिड जम्मा हुन नदिन र अफवाह नफैलाउन आग्रह गरेको छ। तर, भीड र तनाव कायम रहँदा थप हिंसा हुने जोखिम कायमै देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार