१९ मंसिर २०८२, शुक्रबार

कैलाली कारागारको हिंसात्मक झडपबारे गृहमन्त्री र मुख्यमन्त्रीबीच छलफल



धनगढी/ कैलाली कारागारमा शुक्रबार राति भएको हिंसात्मक झडपपछि उत्पन्न तनावपूर्ण अवस्थालाई लिएर गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच विशेष छलफल भएको छ।

काठमाडौँमा रहेका मुख्यमन्त्री शाहले शनिबार गृहमन्त्री लेखकसँग भेट गरेर कारागारमा भएको घटनाबारे जानकारी गराउँदै सुरक्षा व्यवस्थाबारे गम्भीर छलफल गरेका हुन । गृहमन्त्री लेखकले घटनालाई गम्भीर रूपमा लिएको बताउनुका साथै आवश्यक कदम चालिने आश्वासन दिनुभएको छ।

शुक्रबार मध्यराति कारागारको ब्लक ‘ए’ का कैदीहरूले ब्लक ‘बी’ मा रहेका कैदीहरूमाथि रड, ढुङ्गा र जिमखानाका सामग्री प्रयोग गर्दै आक्रमण गरेका थिए। घटनामा धनगढी उपमहानगरपालिका–४ निवासी ४० वर्षीय भरत चौधरीको ज्यान गएको छ भने ४७ जना कैदी घाइते भएका छन्।

झडपपछि कारागारभित्रको अवस्था नियन्त्रणबाहिर गएको छ। कैदीहरूले मूल गेटमा ताल्चा लगाई ग्यास सिलिन्डर तेर्स्याउँदै कोही कारागारभित्र पस्ने प्रयास गरे आगो लगाउने चेतावनी दिएका छन्। यस्तो अवस्थाका कारण सुरक्षाकर्मीहरू समेत कारागारमा प्रवेश गर्न सकेका छैनन्।

सुरक्षाको दृष्टिले जेल परिसरलाई घेराबन्दी गरिएको छ भने स्थिति नियन्त्रणमा लिन उच्चस्तरीय तयारी भइरहेको प्रशासनले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार