कैलाली कारागारको झडप : एक गम्भीर घाइते काठमाडौं रेफर, अनुसन्धान समिति गठन

धनगढी/. कैलाली कारागारमा कैदीबन्दीबीच भएको भीषण झडपमा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लगिएको छ। झडपमा परेर धनगढी उपमहानगरपालिका – ४ का ४० वर्षीय भरत चौधरीको भएको थियो भने ४७ जना घाइते भएका छन्।
गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई गम्भीर चोटपटक लागेपछि सेती प्रादेशिक अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो। अवस्था जटिल बन्दै गएपछि शनिबार बिहान उनलाई सेनाको विमानमार्फत राजधानी ल्याइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
कारागारमा क्षमताभन्दा चौध गुणा बढी कैदी
एक सय ५० कैदी राख्ने क्षमता रहेको कैलाली कारागारमा हाल ६८० जना कैदी राखिएका छन्। क्षमताभन्दा बढी कैदी, सरुवामा देखिएको पारदर्शिताको अभाव, र आन्तरिक सुरक्षा व्यवस्थाको कमजोरीका कारण बारम्बार विवाद हुँदै आएको मानव अधिकार आयोगले औँल्याएको छ।
सुरक्षा निकाय र गृह मन्त्रालय सतर्क
घटनालाई लिएर गृह मन्त्री रमेश लेखकको अध्यक्षतामा शनिबार सिंहदरबारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूबीच उच्चस्तरीय छलफल भएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सरकारले घटनालाई गम्भीरताका साथ लिएको र कारागारको पूर्ण सुरक्षा सुनिश्चित गरिने बताएका छन्।
उनका अनुसार, “गम्भीर घाइतेलाई काठमाडौं ल्याइएको छ, अन्य घाइतेको उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाइएको छ।”
झडपको अनुसन्धान गर्न समिति गठन
जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।
मानव अधिकार आयोगको निरीक्षण
मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयले घटनालाई गम्भीर लापरबाहीको परिणाम भन्दै कारागारको निरीक्षण गरेको छ। आयोगका प्रमुख प्रकाशदत्त भट्टले कैदीको स्थानान्तरणमा पारदर्शिता नहुनु, प्रमुख जिम्मेवार कर्मचारीको विदामा हुनु, र समन्वय अभावले झडप निम्त्याएको बताएका छन्।
स्थिति अहिले सामान्य
झडपपछि केहीबेर कारागारको नियन्त्रण कैदीबन्दीको हातमा गएको भए पनि अहिले अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न सफल भएका छन् भने थप अप्रिय घटना हुन नदिन सतर्कता अपनाइएको छ।




