सुदूरपश्चिम प्रदेश सरकारलाई एमालेको समर्थन : नेता रावल

धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने क्रममा आयोजित प्रदेशसभा बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले सरकारलाई पूर्ण समर्थन रहने स्पष्ट गरेका छन्।
प्रदेशसभा बैठकमा मन्तव्य दिँदै नेता रावलले सुदूरपश्चिम सरकार नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त प्रयासबाट बनेको स्मरण गराउँदै नागरिक उन्मुक्ति पार्टी (नाउपा) त्यसपछि मात्र सरकारमा सहभागी भएको तथ्य उल्लेख गरे।
“सरकारलाई स्थायित्व दिन र समृद्ध सुदूरपश्चिमको लक्ष्य प्राप्त गर्न नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहकार्य अपरिहार्य छ,” रावलले भने, “हामी मुख्यमन्त्रीज्यूको विश्वासको मतको प्रस्तावको पक्षमा समर्थन जनाउँछौं।”
रावलले प्रदेश विकासका लागि रुपान्तरणकारी आयोजनाहरू — पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती, SR6, देवाटवी पर्यटकीय सर्किट, कृषि र औद्योगिक क्षेत्रको प्रवर्द्धन, तथा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना — लाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले स्थिर सरकारको आवश्यकता औंल्याउँदै युवा रोजगारी सिर्जना, सामाजिक समावेशीता, गरिबी उन्मूलन, तथा बसाइसराइँ नियन्त्रणमा सहकार्य आवश्यक भएको उल्लेख गरे। साथै, सामाजिक र सांस्कृतिक विभेद अन्त्य गरी सुदूरपश्चिमका मौलिक संस्कृति र पहिचानको संरक्षण जरुरी रहेको धारणा व्यक्त गरे।
मन्तव्यको अन्त्यमा नेता रावलले विपक्षी दलहरूलाई पनि विश्वासको मतको पक्षमा मतदान गर्न आग्रह गरे। उनले भने, “आउनुस्, समृद्ध सुदूरपश्चिमको महाअभियानमा एकवद्ध भई विकास र समृद्धिको साझा डेउडा खेलौं।”




