२ श्रावण २०८२, बिहीबार

सुदूरपश्चिमको बजेटमा एमालेकै पाठकको विरोध, बहुमतको आडमा बजेट पारित भयो: बिक



धनगढी: सुदूरपश्चिम सरकारको बजेट पारित भएको छ। बुधबारको प्रदेशसभा बैठकले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरेको हो।

यसबीच चार दिनसम्म चलेको बजेटमाथिको छलफलका क्रममा बजेटमा बिचौलिया हाबी भएको भन्दै कडा आलोचना भएको थियो।

बजेट निर्माणमा भएका गलत गतिविधि छानबिन गर्न र दोषीलाई कारबाही गर्न समिति गठनको माग पनि भयो। तर, बुधबार बजेट पारितका लागि आर्थिक मामिलामन्त्री थापाले राखेको प्रस्ताव भने सर्वसम्मत पारित भएको हो।

बजेटमाथिको छलफलमा सत्तारुढ एमाले पनि दुई कित्तामा विभाजित देखिएको थियो। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल बजेट सकारात्मक भएको भन्दै प्रदेश सरकारको बचाउमा लागेका थिए। तर, एमालेकै प्रदेशसभा सदस्य धर्मराज पाठकले भने बजेटमा बदमासी भएको बताएका थिए।

बजेटमाथिको छलफलमा बोल्दै पाठकले भने, ‘बजेटमा बदमासी भएको छ, एकएक बदमासी पत्ता लाग्छ। यसलाई रोक्न जारुरी छ। मुख्यमन्त्रीज्यू छानबिन समिति गठन गरौं।’

उनले एमाले नै नेतृत्व गरिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले योजना खरिदबिक्री गरेको आशंका व्यक्त गरेका थिए। ‘भौतिक पूर्वाधार विकास मन्त्रालयबाट कुरा सुरु गरौं, हाकाहाकी पैसा लिएको कुरा उठिरहेको छ’ उनले भने, ‘होटलका नाम पनि भनिरहेका छन् सांसदहरुले। प्रदेशसभाकै बैठकमै प्रमाण दिन्छौं भनिरहेका छन्। सम्बन्धित मन्त्रीमाथि यो नैतिक प्रश्न हो की होइन ? दुई–चार करोडका लागि मात्र राजनीतिमा आएका हौं भने ठीकै छ।’

यस्तै उता नेकपा माओवादी केन्द्रकी प्रदेश सभा सदस्य लक्ष्मी बिकले पनि बजेटबारे छलफलको औचित्य नभएको बताउँदै बहुमतको आडमा बजेट पारित गरिएको बताइन्। उनले बजेट छलफलमा आएका कुराको सम्बोधन नभएको गुनासो गर्दै हालको बजेट प्रणाली नै गलत भएको दर्शाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार