सुदूरपश्चिमको बजेट कर्मकाण्डी, अर्थमन्त्रालय निरीह भन्दै फेल गर्न सरलको आह्वान

धनगढी: नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सभा सदस्य ओम बिक्रम भाट सरलले बजेटको आलोचना गरेका छन्। सुदूरपश्चिमको बजेट जनताको भावनाविपरीत रहेको बताउदै प्रदेश सभामा सांसद भाटले सरकारले प्रस्तुत गरेको बजेटलाई कर्मकाण्डी, बिचौलियामुखी र भिजनविहीन बताएका हुन्।
उनले जनताले भोगिरहेको बाढी, पहिरो, गरिबी, रोजगारीको अभाव, महिला हिंसा, दलितमाथिको छुवाछूत जस्ता गम्भीर समस्या बजेटमा सम्बोधन नभएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्।
पूर्वमन्त्री समेत रहेका ‘सरल’ले प्रदेश सरकारको बजेटले संघियतालाई गिज्याइरहेको पनि बताए। भाटले प्रदेश र जनताको आवश्यकतालाई आगामी आर्थिक वर्षको बजेटले रत्तिभर पनि सम्बोधन गर्न नसकेको बताए।
‘बलियो भनिएको सरकारको फितलो र कमजोर बजेट छ,’ उनले भने, ‘बजेट बितरणमुखी र स्रोत व्यवस्थापन गर्न नसक्ने गरि आएको छ। यसले सुदूरपश्चिम प्रदेशको दिगो विकास र समृद्धिको लक्ष्य हासिल गर्न सक्दैन।’
बजेटमा अर्थ मन्त्रालय निरीह देखिएको पूर्वमन्त्री भाटको तर्क छ। ‘अर्थ मन्त्रालय निरीह हुनु भनेको सरकार निरी हुनु हो,’ उनले भने, ‘बिचौलियाहरु हाबी छन् भन्नेकुरा घाम जस्तै छर्लङ्ग देखिएको छ।’
नीति कार्यक्रममा जनतालाई ठुला सपनाको भारी बोकाइएको बताउँदै उनले त्योअनुसार बजेट आउन नसकेको बताए। ‘नीति तथा कार्यक्रममा गधालाई बाघको छाला लगाइदिएर बाघ देखाउने प्रयत्न गरिएको थियो,’ उनले भने, ‘तर, बजेटसम्म आउँदा त्यो गधा करायो र सबैले बाघ होइन यो गधा हो भन्ने अहिले थाहा पाए। मैले यो कुराको संकेत नीति कार्यक्रमको छलफलमा सहभागी हुँदा गरेको थिए।’
सरकारले प्रदेश गौरवका योजनाहरुमा एक हजार विनियोजन गरेर आफ्नो भिजन र कार्यदक्षतामाथि गम्भीर प्रश्न उठाएको उनको भनाई छ। ‘बाहिरबाट हेर्दा प्रदेशमा झण्डै दुई तिहाइको सरकार छ, तर अन्तर्यमा गहिरिएर हेर्दा अढाई सरकार ,’ उनले भने, ‘हाम्रो प्रदेशमा एक सरकार कांग्रेसको एक एमालेको र आधा नागरिक उन्मुक्ति पार्टीको छ। यसको प्रष्ट चित्र बजेट केलाएर हेर्ने हो भने त्यहाँ देखिन्छ।’ भाटले प्रदेश र जनताका पक्षमा उभिएर बजेटलाई फेल गर्न प्रदेशसभा सदस्यलाई आह्वान पनि गरे।
भाटले अन्त्यमा सबै सांसदहरूलाई दलभन्दा माथि उठेर प्रदेश र जनताको पक्षमा उभिन आह्वान गर्दै भने, “यो बजेटले जनतालाई राहत होइन, आहत दिएको छ। यसलाई पूर्णरूपेण परिमार्जन गर्नुपर्छ। नत्र हामी इतिहासका दोषी ठहर्नेछौं।”