१ श्रावण २०८२, बुधबार

सामाजिक समितिले भेट्यो प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष




काठमाडौं/ संघीय संसदको अध्ययन तथा अवलोकन भ्रमणा रहेको सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले काठमाडौंमा सोमबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसंग भेट गरेको छ ।

प्रतिनिधि सभामा तीनवटा बिषयगत समितिसंग आइतबार छलफल गरेपछि सामाजिक विकास समितिले सोमबार सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहालसंग भेट गरेको हो । सभामुख घिमिरेसंगको भेटमा संघीयता कार्यान्वयनका चुनौती र सामाजिक विकास समितिको कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष दाहालसंगको भेटमा संघीय संसदका बिषयगत समिति र प्रदेश सभाका बिषयगत समितिहरुको कामकाजलाई प्रभावकारी बनाई सरकारका कामहरुमा संसदीय निगरानी बढाउने बिषयमा छलफल भएको सभापति धर्मराज पाठकले बताए ।

सामाजिक विकास समितिले यसअघि आइतबार प्रतिनिधि सभाका तीनवटा बिषयगत समितिहरुसंग छलफल गरेको थियो । समितिले प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिसंग भेटघाट तथा छलफल गरेको थियो ।

सबै समितिका सभापति र सदस्यहरुसंग छलफल तथा अनुभव आदानप्रदान भएको सामाजिक विकास समितिका सचिव युवराज जैशीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा शिक्षा, स्वास्थ्य, खेलकूद लगायतका बिषय हेर्ने सामाजिक विकास मन्त्रालय र भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सम्पादन गर्ने कामकाज सामाजिक विकास समितिको कार्यक्षेत्रमा पर्छ । “हामीले हाम्रो समितिको कार्यक्षेत्र संग मिल्ने संघीय संसदका तीनवटा समितिहरुसंग अनुभव आदानप्रदान गरेका छौं”–सभापति पाठकले भने ।

संघीय संसदका बिषयगत समितिहरुको छलफलले प्रदेश सभामा बिषयगत समितिलाई अझ बढी प्रभावकारी बनाउन सहयोग पुग्ने सभापति पाठकले विश्वास ब्यक्त गरे ।

छलफलमा सामाजिक समितिका सदस्यहरु झपट साउद, ओमबिक्रम भाट, माया पन्त, जानकी कुँवर, , कैलास चौधरी, शिवराज भट्ट र खुसीराम डगौरा थारुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार