सुदूरपश्चिमका मन्त्री चौधरी बर्खास्तको तयारी, नागरिक उन्मुक्तिमा अन्योल

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी बर्खास्त हुने निश्चितजस्तै भएको छ। नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी भएका मन्त्री चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिन आग्रह गरे पनि उनले हालसम्म राजीनामा दिएका छैनन्।
नागरिक उन्मुक्ति पार्टी निकट स्रोतका अनुसार मन्त्री चौधरीको नाम जोडिएर अख्तियारमा उजुरी परेपछि र खप्तड पर्यटन विकास समितिमा गरिएको मनोमानी निर्णयपछि मुख्यमन्त्री शाहले उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका हुन्।

मुख्यमन्त्री शाहले चौधरीलाई हटाउने तयारी गर्दै नागरिक उन्मुक्ति पार्टीसँग नयाँ मन्त्रीको नाम सिफारिस गर्न पनि आग्रह गरिसकेका छन्। तर, पार्टीले अझैसम्म कुनै औपचारिक निर्णय गरिसकेको छैन।
पार्टी स्रोतका अनुसार “रामेश्वर चौधरीलाई फिर्ता बोलाउने वा समर्थन कायमै राख्नेबारे छलफल जारी छ, अहिलेसम्म अन्तिम निर्णय गरिएको छैन।”
सुदूरपश्चिममा सत्ता साझेदार दलबीचको बढ्दो अविश्वास र मन्त्री चौधरीमाथिको विवादले सरकारभित्रको शक्ति सन्तुलनलाई भने असर पर्ने देखिदैन ।




