२ श्रावण २०८२, बिहीबार

सुदूरपश्चिम प्रदेशको बजेट ३३ अर्ब ४७ करोड  (हेर्नुस लाइभ)




धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आइतबार प्रदेश सभामा सरकारको बजेट प्रस्तुत गरेका थिए ।

उनले चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड दुई लाख छ हजार (५९.२५ प्रतिशत) बजेट विनियोजन गरेका छन् ।

अन्तर वित्तीय हस्तान्तरतर्फ तीन अर्ब ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड रुपियाँ बजेट विनियोजन गरेको मन्त्री थापाले बताए ।

उनले आगामी आर्थिक वर्षका लागि अनुमान गरेको खर्च बेहोर्ने स्रोतहरुमा आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६५ करोड रुपियाँ नेपाल सरकारबाट राजस्व बाँडफाँट भइ प्राप्त हुने अनुमानित रकम नौ अर्ब ८७ करोड २५ लाख, संघीय रोयल्टी बाँडफाँटबाट प्राप्त हुने रकम आठ करोड रुपियाँ रहेको पनि बताए ।

त्यस्तै, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान आठ अर्ब ९२ करोड ५६ लाख, प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को विनियोजनबाट बचत हुने अनुमानित सात अर्ब ६६ करोड ६३ लाख रुपियाँ खर्च बेहोर्ने स्रोत रहेको छ ।

त्यस्तैगरेर, सशर्त अनुदानबाट प्राप्त हुने रकम चार अर्ब १६ करोड ३० लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने रकम ६० करोड २६ लाख र विशेष अनुदानबाट प्राप्त हुने अनुदान रकम ५१ करोड ६० लाख रुपियाँ रहेको मन्त्री थापाले बताए ।

बजेटमा भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि सबैभन्दा बढी १५ अर्ब ४० करोड ३० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

बजेटमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि तीन अर्ब ३० करोड १० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि सरकारले दुई अर्ब ३४ करोड ४८ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

प्रदेशको ३२ वटै निर्वाचन क्षेत्रमा एक/एक वटा प्रदेश नमूना विद्यालय स्थापनाका लागि २३ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । एमबिबिएस अध्ययन गर्न छात्रवृत्तिका लागि सात करोड ६५ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका लागि सरकारले सात अर्ब सात करोड चार लाख रुपियाँ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि सरकारले ३६ करोड चार लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार