२ श्रावण २०८२, बिहीबार

गणतन्त्र र सङ्घीयताले विकास गाउँसम्मै पुगेको दावी




धनगढी/
जनताले गणतन्त्र र संघीयताले केही दिन नसकेको भन्दै गुनासो गरिरहेका बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, प्रमुख प्रतिपक्षी दल र पूर्व मुख्यमन्त्रीहरुले गणतन्त्र र सङ्घीयताका कारण विकास गाउँसम्मै पुगेको टिप्पणी गरेका छन् ।

गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको अवसरमा अनुमोदन दैनिकलाई प्रतिक्रिया दिदै मुख्यमन्त्री शाह, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता खगराज भट्ट, पूर्व मुख्यमन्त्रीहरु त्रिलोचन भट्ट, दीर्घबहादुर सोडारी र राजेन्द्रसिंह रावलले गणतन्त्र र संघीयताका बारे सकरात्मक परिचर्चा गरेका हुन ।

२०६५ साल जेठ १५ गते संविधान सभाले नेपालमा गणतन्त्र स्थापना भएको घोषणा गरेको थियो । भने २०७२ असोज ३ गते घोषणा भएको संविधानले नेपालमा संघीयताको व्यवस्था गरेको थियो ।

गणतन्त्र र संघीयतालाई संस्थागत गर्न प्रदेश सरकारले के गरेको छ भन्ने प्रश्नमा मुख्यमन्त्री शाहले प्राप्त अधिकार अनुसार जनताका चाहना पूरा गर्ने काम गरिरहेको दावी गरे ।

उनले भने नेपालमा गणतन्त्र र सङ्घीयता आएको धेरै भएको छैन अरु देशमा यसका लामा इतिहास छन् नेपालकै सन्र्दभमा त प्रदेश तह नौलो संरचना हो जवकी अरु दुई तह सङ्घ र प्रदेश कुनै न कुनै रुपमा पहिलेदेखि नै सञ्चालनमा छन्, यस्तो अवस्थामा पनि हामीले जनताको हीतमा काम गरिहेका छौ ।

सङ्घ र स्थानीय तहका सरकार र प्रतिनिधिसंग समन्वय गरेर अघि बढीरहेको दावी गरेका मुख्यमन्त्री शाहले विकासका सन्द्र्धभमा हामी तीनै तहका सरकार एकै ठाउँमा छौ विकासका कामलाई प्राथमिकता दिएर हिँडेका छौ भने ।

उनले गणतन्त्र र संघीयता संस्थागत र बलियो बनाउनका जनताको विश्वास र भरोसा जित्ने गरेर काम गरिरहेको पनि बताए ।
नेपाली कांग्रेस संसदीय दलका नेता तथा ०७९ को दोस्रो प्रदेश सभा निर्वाचनपछि दुई पटक मुख्यमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका मुख्यमन्त्री शाहले गणतन्त्र र सङ्घीयतालाई डगमगाउन नदिने गरेर तीनै तहका सरकारले काम गर्नु पर्नेमा पनि जोड दिए ।

प्रमुख प्रतिपक्ष माओवादीका संसदीय दलका नेता भट्टले अहिलेको व्यवस्था उत्कृष्ट भएको, जनतालाई सार्वभौम बनाएको, सिंहदरवारको ढुकुटी गाउँगाउँमा पुगेको बताउदै अझै आर्थिक समृद्धीका लागि काम गर्न जरुरी रहेको टिप्पणी गरे ।

०७४ सालको प्रदेश सभा निर्वाचनपछि पाँचै वर्ष मुख्यमन्त्री हुन सफल नेकपा (माओवादी केन्द्रका) नेता तथा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टले गणतन्त्र र सङ्घीयतापछि सरकार नजिक आएको र जनताले आफ्ना आवश्यक्ता बारे सुनाउने ठाउँ पाएको बताउदै, नागरिकका अपेक्षा क्रमश पूरा हुँदै गएको तर ती अपेक्षा तिब्ररुपमा समाधान हुन जरुरी रहेको बताउनुभयो ।

अपेक्षा तिब्ररुपमा पूरा नहुँदा केही जनगुनासा छन् उनले भने, ती गुनासाको अन्त्य गर्न गणतन्त्र र सङ्घीयता ल्याउनेहरु एकताबद्ध हुन जरुरी छ ।

०७९ को निर्वाचनपछि सङ्घीयतापछिको दोस्रो मुख्यमन्त्री हुन सफल नेकपा (एमाले) का संसदीय दलका नेता राजेन्द्रसिंह रावलले गणतन्त्र र सङ्घीयतापछि मुलुकको भौतिक विकास हुनु र आर्थिक अवस्था सुधार हुनाले नेपाल विश्वव्यापी रुपमा परिचित हुन थालेको बताउदै नेपाल अल्पविकसित राष्ट्रबाट विकसित मुलुकमा प्रवेश गर्न थालेको बताए ।

उनले जनताका आकांक्षा पूरा गर्न र सार्वभौकिता रक्षा गर्दे लिपुलेक क्षेत्र नेपालको नक्सामा जोडिनु पनि यही व्यवस्थाको उपज भएको बताए ।

हिंसा विना नै राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको चर्चा गर्दे उनले गणतन्त्रले नै समावेशीता ल्याएको, दलित, जनजाती र महिला मुलुकका राष्ट्रपति, प्रधानन्याधिस, सभामुख लगायतका मुख्य पदसम्म पुग्न पाएको बताए ।

सुदूरपश्चिम प्रदेशको चौथौ मुख्यमन्त्री बन्न सफल नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नजिकको सरकार बन्नु गणतन्त्र र सङ्घीयताको सुन्दर पक्ष भएको बताउदै अहिले गाउँगाउँमा ठूला सडक, पुल, पुलेसा पुगेको स्वास्थ्य, शिक्षामा उल्लेखनिय प्रगति भएको बताए ।

मुख्यमन्त्री शाह, प्रमुख प्रतिपक्षी दलका नेता भट्ट र पूर्व मुख्यमन्त्री सोडारीले गणतन्त्र र संघीयता कार्यान्वयनमा देखिएका कमजोरी बारे पनि चर्चा गरेका छन् ।

मुख्यमन्त्री शाहले भने निजामति, शिक्षा, प्रहरी जस्ता केही महत्वपूर्ण ऐन सङ्घ सरकारले पारित नगर्दा प्रदेश सरकारलाई सङ्घीयता कार्यान्वयनमा कठिनाइ भएको छ ।

माओवादीका संसदीय दलका नेता भट्टले व्यवस्था र प्रणालीले होइन नेताका व्यक्तिगत स्वार्थका कारण अस्थिरता निम्तिएको चर्चा गर्दे नीतिगत विसंगति, भ्रष्टाचार र कुशासन अहिलेको व्यवस्थाको चुनौती भएको बताए ।

पूर्वमुख्यमन्त्री सोडारीले खरबौ रुपियाँ बैकमा थुप्रिनु, विकासका कामको अनुगमन सुपरिवेक्षण नहुँनु, तीनै तहका सरकारका अनावश्यक खर्च बढ्नु, विकासका गुरुयोजना नबन्नु र रोजगारी सृजना नहुँदा जनतामा निराशा रहेको बताए । उनले भने यस्ता निराशाको अन्त्य गर्न कृषि र पर्यटन उद्योग स्थापना गरेर रोजगारी बढाएर गणतन्त्र र सङ्घीयताको संस्थागत विकास गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार