सुदूरपश्चिममा प्रदेश स्तरीय मनसुन फोरम, विपद पूर्वतयारीमा जोड

धनगढी/ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले प्रदेशमा १६ स्थानमा वर्षा तथा नदी सतह मापन गर्ने गेज स्टेशनहरू जडान भइसकेको बताएका छन् ।
जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले मर्सिकोर नेपालको सहकार्यमा मंगलबार पहिलो पटक सुदूरपश्चिम प्रदेशमा आयोजना गरेको प्रदेश स्तरीय मनसुन फोरममा बोल्दै उनले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रहरूलाई प्रभावकारी बनाउन आवश्यक सामग्रीहरू उपलब्ध गराउँदै आएको र विपद् सम्पर्क व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्न पनि मन्त्रालयले निरन्तर काम गरिरहेको बताए ।
सो कार्यक्रममा यो वर्षको मनसुन परिदृश्य, ऋतुगत पूर्वानुमान, सम्भावित जोखिमहरूको आँकलन र विपद् पूर्वतयारीका विषयमा गहन छलफल गरिएको छ ।

कार्यक्रममा यस वर्ष मनसुन औसतभन्दा अगाडि प्रवेश गर्ने र वर्षा पनि औसतभन्दा बढी हुने सम्भावना रहेकाले तत्काल पूर्वतयारीमा जुट्नुपर्ने आवश्यकता रहेको मौसम विज्ञ डा. धर्मराज उप्रेतीको प्राविधिक प्रस्तुतीमा उल्लेख छ ।
विभागका प्रतिनिधि विभूति पोखरेलले फोरममा समग्र सहजीकरण गर्दै सुदूरपश्चिममा मौसम पूर्वानुमान प्रणालीलाई अझ सुदृढ बनाउने पहलका बारेमा जानकारी दिए ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति दिपेन्द्र विष्टले सुदूरपश्चिमको समग्र जोखिम परिदृश्य, नीतिगत संरचना र हाल सञ्चालनमा रहेका पूर्वतयारी गतिविधिहरूको प्रस्तुती गरे । साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रका तयारी र समन्वयका प्रयासहरू प्रस्तुत गरेका थिए ।
खुला छलफल सत्रमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बाढी तथा पहिरोको जोखिम उच्च रहेकोले सम्बन्धित निकायहरूबीच तालमेल र सहकार्य अत्यावश्यक रहेकोमा जोड दिए ।
फोरमले सुदूरपश्चिम प्रदेशमा मौसम पूर्वानुमान र जोखिम मूल्याङ्कनलाई आधारित बनाएर रणनीतिक पूर्वतयारी र नीति निर्माणमा सघाउ पुर्याउने स्पष्ट दिशा तय गरेको छ । यसले सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै, विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी कार्यान्वयनको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर संजयकुमार साहले बताए ।
कार्यक्रम जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा कानुन मन्त्रालयका सचिव विरेन्द्रकुमार मिश्र लगायतको उपस्थिति रहेको थियो ।




