१८ मंसिर २०८२, बिहीबार

सरकार उल्टो बाटोमा हिड्यो तर ढाल्नेतर्फ हाम्रो ध्यान छैनः प्रचण्ड



नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सो पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी उत्सवलाई राष्ट्रिय र माओवादी झण्डा हस्तान्तरण गरेर बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्ग अभियानको शुभारम्भ गर्दे ।

धनगढी/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सुशासन विरुद्ध, दोषीलाई बचाउने, इमान्दारलाई फसाउने जस्ता काम गरेर उल्टो बाटोमा हिँडेको भए पनि आफू यो सरकार ढाल्न नलागेको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग अभियानको शुक्रबार बैतडीको पाटनमा उद्घाटन गर्दे उनले अहिले आफ्नो पार्टीको ध्यान सरकार ढाल्ने वा बनाउनेतिर होइन सरकारलाई सुशासन कायम गराउन दवाव दिनतर्फ रहेको बताए ।

उनले जोड दिदै भने, अहिलेको सरकार सुशासन भत्काउनतिर लागेको छ । राम्रो काम गर्नेलाई दण्डित गर्ने र नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको छ ।

उनले आफ्नो पार्टीको तत्कालिन सरकारले सबैभन्दा धेरै प्राथमिकता सुदूरपश्चिमलाई दिएको दावी गरे । उनले जोड दिदै भने सुदूरपश्चिम विश्वविद्यालय, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, सेती, महाकाली करिडोर, गेटामा शदरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रस्ताव, मध्यपहाडी लोकमार्ग माओवादीले नै अघि बढाएको हो ।

हुलाकी राजमार्ग धेरै वर्षदेखि रोकिएर बसेको थियो त्यसलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुरा गरेर आफ्नै सरकारले अघि बढाएको पनि उनले बताए ।

मध्यपहाडी राजमार्ग अभियानबाट यस क्षेत्रमा बस्ने जनताको आर्थिक, सांकृतिक जीवन बुझ्ने बताउदै अध्यक्ष प्रचण्डले यो अभियानले राष्ट्रिय एकता सुदृढ बनाउने विश्वास पनि व्यक्त गरे ।

सो अभियानमा माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अर्का उपाध्यक्षहरु अग्नि सापकोटा, पम्फा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोख्रेल लगायतको पनि सहभागिता रहेको छ ।

यसअघि शुक्रबार विहान डडेल्धुरामा गरिएको पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिदै अध्यक्ष प्रचण्डले विगतको वामपन्थी एकता एमाले अध्यक्ष केपी ओलीका कारण टुटेको बताउदै ०८४ को चुनावसम्म वामपन्थी एकताको सम्भावना नरहेको पनि बताए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैतडीको पाटनमा आयोजित मध्यपहाडी लोकमार्ग अभियानको शुभारम्भ सभामा बोल्दै ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार