१२ बैशाख २०८२, शुक्रबार

उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको आठौं प्रदेश सभा



नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको आठौं प्रदेश सभा शनिबार टीकापुरमा भएको छ ।

सभाले बन्दसत्रमार्फत कोषाध्यक्ष लालमणि पन्तद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को १८ लाख १४ हजार ६३३ रुपैयाँ बराबरको आयव्ययर कार्यकारी निर्देशक ज्योति भट्टद्वारा प्रस्तुत प्रगति प्रतिवेदन अनुमोदन गरेको छ । बन्दसत्रमा प्रदेशमा आवद्ध विभिन्न जिल्ला, नगर तथा एशोसियट संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बन्दसत्रअघि प्रदेश सभाको एक समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले समुद्घाटन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि रहेका ढकालले शुभकामना मन्तव्य राख्दै देशले राजनीतिक तन्त्रभन्दा पनि अर्थतन्त्रको आवश्यकता गरिरहेको बताए ।

उनले जुनसुकै तन्त्र भएपनि अर्थतन्त्र सुधार बिना देश सम्वृद्ध हुन नसक्ने बताएका छन । ‘राजतन्त्र, लोकतन्त्र, गणतन्त्र जेसुकै भन्नुहोस्,’ उनले भने– ‘अर्थतन्त्र सुधार भएनभने देश समृद्धि सम्भव छैन ।’ उनले अर्थतन्त्रमा सुधार भयो भने देशमा जुनसुकै तन्त्र भएपनि फरक नपर्ने बताए ।

उनले अर्थतन्त्रका हिसाबले मुलुक ६० वर्ष यताकै जोखिमपूर्ण अवस्थामा गुज्रिरहेको बताए । ‘म ४० वर्ष भयो व्यवशायमा लागेको यस्तो अवस्था कहिल्यै आएको थिएन,’ उनले भने– ‘देश आर्थिक हिसाबले निकै गम्भीर मोडमा पुगेको छ ।’

उनले कोरोनाले नेपालको मात्रै नभई संसारका विकसित राष्ट्रको अर्थतन्त्रलाई समेत नराम्ररी प्रभावित पारेको बताए । उनले कोरोनाकै कारण नेपालको आर्थिक अवस्था धरासायी भएको दावी गरे । उनले देशको नीतिगत कमजोरी, भ्रष्टाचार, कानून कार्यान्वयनको अवस्थाले समेत आर्थिक अवस्था धरासायी बनाउनमा सहयोग पु¥याएको बताए ।

उनले सरकारले पूर्व अर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा उच्च स्तरीय आर्थिक समिति गठन गरेर अर्थतन्त्र सुधारका प्रयास गरिरहेको जानकारी दिए । उनले समितिले प्रदेश र जिल्लाहरूमा रायसुझाव संकलन गरेर सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाई सकेको बताए ।

उनले अनुत्पादक क्षेत्रमा लगानी बढेकै बेला बैंक तथा वित्तीय संस्थाहरूले ब्याज वृद्धि गरेर ब्यापारी व्यवशायीलाई संकटमा पार्ने काम गरेको बताउँदै राष्ट्र बैंकको लापरवाहीले समस्या सृजना भएको आरोप लगाए ।

‘एकातिर हामीले अनुत्पादक क्षेत्रमा लगानी ग¥यौ त्यहीबेला ब्याज दोब्बरले वृद्धि भयो,’ उनले भने– ‘आन्तरिक र बाह्य दुवै कारणले समस्या बढाएको हो ।’

उनले नीतिगत सुधारको बारेमा छलफल भैरहेको बताउँदै ८ वटा कानून संशोधन भैसकेको र २९ वटा कानून संशोधनको क्रममा रहेको जानकारी दिए ।

उनले लगानीको माहौल नभएका कारण बैंक तथा वित्तीय संस्थाहरूमा रकम थुप्रिएको बताए । उनले पछिल्लो समय राजनीतिक स्थिरताले उत्पादन र राजश्वमा केही सुधारका संकेत देखिएको बताए । ‘काँग्रेस र एमालेको सरकार बनेपछि केही सुधारका संकेत देखिएका छन,’ उनले भने– ‘तर सम्वृद्धिको बाटोमाजाने गरी सुधार भने भएको छैन ।’

उद्घाटन समारोहमा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटा, कानूनी सल्लाहकार वीरबहादुर जेठारा, पूर्व केन्द्रीय सदस्य हेमराज गिरी, लम्कीउद्योग वाणिज्य संघका अध्यक्ष पदम चौलागाई, टीकापुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज रावललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रदेश अध्यक्ष शंकर बोगटीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्वागत उपाध्यक्ष मदनराज पन्तले स्वागत गर्नुका साथै कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक ज्योति भट्टले गरेका थिए । कार्यक्रमको आतिथ्यता टीकापुर उद्योग वाणिज्य संघले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार