१२ बैशाख २०८२, शुक्रबार

डुबान प्रभावित क्षेत्रमा वैकल्पिक बन्यो चैते धान खेती



कैलालीको डुबान प्रभावित क्षेत्रमा चैते धान खेती वैकल्पिक खेती बनेको छ । बर्खे धानलाई बाढीले नोक्सान गर्ने गरेका कारण डुबान प्रभावित क्षेत्रका किसानका लागि चैते धानको खेती वैकल्पिक खेती बनेको हो । जिल्लाको भजनी नगरपालिकाका कतिपय किसानले चैते धान खेतीमात्रै गरेर जीविका चलाउने गरेका छन् ।

बाढीले बर्खे धानबालीलाई क्षति गर्ने गरेकाले किसान चैते धानतिर आकर्षित भएको भजनी नगरपालिका–५, लालबोझीका कृषक खोजराम चौधरीले बताए । उनले यस वर्षको चैते धानको रोपाइँ सुरु गरिसकेका जानकारी दिए ।

“तोरी भित्र्याइ सकेको खेतमा किसानले चैते धान रोपाइँ गरिरहेका छन्,” चौधरीले भने, “मसुर रहेको खेतमा रोपाइँ गर्न बाँकी रहेको छ । तर, अब यहि चैतको १० गतेभित्रै सबै खेतमा रोपाइँ हुन्छ ।”

गतवर्ष कैलालीमा करिब एक हजार एक सय हेक्टर जमिनमा चैते धान खेती गरिएको थियो । चैते धानको खेती सबैभन्दा बढी भजनी नगरपालिकामा हुने गरेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । सो कार्यालयका अनुसार त्यसपछि कैलारी गाउँपालिकामा अलि बढी चैते धान खेती गर्ने गरिएको छ । जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, घोडाघोडी नगरपालिकामा केही मात्रामा चैते धान गर्ने गरेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राम नारायण चौधरीले जानकारी दिए ।

भजनीको वडा नम्बर ३, ५, ७ र ८ मा किसानले चैते धान खेतीमात्रै गर्ने गरेको उनले बताए । “भजनीका यी वडाहरू विपत् प्रभावित वडा भएकाले यहाँका किसानका लागि बर्खे वा चैते जे भने पनि चैते धानमात्रै हो,” चौधरीले भने ।

जिल्लामा यसवर्ष केही क्षेत्रफल चैते धान खेती बढ्ने जनाइएको छ । चैते धान खेतीतर्फ किसानको आकर्षण बढाउनका लागि कृषि ज्ञान केन्द्रले सम्झौता गरेर अनुदान दिने गरेको छ । छनोटमा परेका कृषकलाई बीउबिजन वा आवश्यकतानुसार कृषि उपकरण खरिदका लागि प्रति कट्ठा दुई हजारको दरले अनुदान दिइने गरेको जनाइएको छ । त्यति नै रकम कृषकले पनि लगानी गर्नु पर्दछ । चालु आर्थिक वर्षमा चैते धान खेतीमा अनुदानका लागि आठ लाख रुपैयाँ बजेट कृषि ज्ञान केन्द्रमा रहेको छ ।

चैते धानको उत्पादन बर्खे धानको भन्दा राम्रो हुने गरेको जनाइएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष जिल्लामा प्रति हेक्टर ५.२ मेट्रिकटनको दरले पाँच हजार ७२० मेट्रिकटन चैते धान उत्पादन भएको थियो ।

चैते धान उत्पादन राम्रो हुने र बर्खे धान बाढीका कारण नपाइने गरेका कारण डुबान प्रभावित भजनीका किसानले चैते धान खेतीमात्रै गर्ने गरेको भजनी नगरपालिका–८ का जयप्रसाद ढुङगानाले बताउनुभयो । चैते धान खेती गरेका किसानले बर्खा याममा जमिन बाँझै छोड्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार