९ चैत्र २०८१, आईतवार

इमान्दार नेपालीको नकरात्मक टिप्पणी किन : परराष्ट्रमन्त्री देउवा




धनगढी/ परराष्ट्रमन्त्री आरजु राणा देउवाले सामाजिक संजालको कारण अन्तराष्ट्रिय स्तरमा नेपालको बदनाम भइरहेको चिन्ता व्यक्त गरेकी छन् ।

नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दे उनले सँधै सामाजिक संजालमा नकारात्मक टिप्पणी मात्रै हुने गरेकोमा चिन्ता जाहेर गरिन । उनले भनिन हामीले नकरात्मक टिप्पणी गरे पनि नेपाललाई हेर्ने दृष्टिकोण अन्तराष्ट्रिय स्तरमा निक्कै राम्रो छ ।

उनले युवा विदेश जाने कारण सम्भावना नभएर नभएको बताउदै, नेपालको अवस्था विगतको भन्दा राम्रो भएको दावी गरिन । उनले नेपालमा पनि धेरै सम्भावना रहेको चर्चा गरिन ।

सामाजिक सञ्जालमा देशको बारेमा नकरात्मक चित्रण गर्ने कुरा पनि चुनौतीको रुपमा रहेको बताउदै उनले भनिन “विदेशका माझ नेपालीको परिचय भनेको मेहनती ,ईमान्दार भन्ने छ तर हामी सधै नकारात्मक मात्रै हुनुभन्दा सकारात्मक भएर प्रस्तुत हुन जरुरी छ । ”

मन्त्री देउवाले फरक प्रसंगमा सुदूरपश्चिममा धेरै विकास निर्माणका काम भएको दावी गर्दे, शिक्षा, स्वास्थ्य, सडक लगायतमा क्षेत्र त्यसको उदाहरण भएको चर्चा गरिन । उनले कैलालीको चिसापानीदेखि कञ्चनपुरको महेन्द्रनगर छ लेन सडक समेत छिट्टै बन्ने समेत बताइन ।

अर्को प्रसंगमा मन्त्री देउवाले हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेको समेत बताउनुभयो ।

उनले भनिन “हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सकेसम्मको मेहनत गरेरहेकी छु । सबै क्षेत्रमा पहल पुगेको छ । कतिपय कुरा भाग्यमा पनि भर पर्छ । हाम्रो चाहाना विपिन सकुशल फर्केर आउन् भन्ने हो ।”

नेपाली कांग्रेसकी नेत्रृ समेत रहेकी मन्त्री देउवाले कांग्रेसको नीति मार्गदर्शन देश बनाउने भएको बताउँदै सबै नेता कार्यकर्तालाई सकरात्मक सोचका साथ अगाडि बढ्न समेत आग्रह गरिन ।

उनले राजनीतिबाट मात्रै परिवर्तन ल्याउन सकिने बताउँदै आ–आफ्नो क्षेत्रबाट सबैले आ–आफ्नो कर्तव्य पूरा गर्नुपर्ने सुझाइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार