२६ माघ २०८१, शनिबार

ढुंगाले हानेर दुई किशोरीको हत्या भएको आशङ्का




अछाम / अछामको ढकारी गाउँपालिका–८ कि १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्काको ढुंगाले हानेर हत्या गरिएको आशंका गरिएको छ । मृत भेटिएकी ती दुई किशोरीका आफन्तले सो आशङ्का गरेका हुन ।

ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ शव फेला परेको थियो । शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएकी उनीहरू त्यही दिनबाट सम्पर्कबिहीन भएका थिए । शनिवार शङ्कास्पद अवस्थामा शव फेलापरेसँगै आफन्तले ढुंगा हानेर हत्या गरेको आशङ्का गरेका हुन ।

आफन्तले हत्या भएको भन्दै छानबिनको लागि स्थानीय प्रहरी र जिल्ला प्रशासनसँग माग गरेको हुन । शव क्षतविक्षत अवस्थामा अलगअलग ठाउँमा फेला परेका छन् । मृतक दुबै जना एउटै परिवारको हुन । मृतकमध्ये सरस्वती फुपु र इशरा भदैनी नाता पर्छन् ।

मृतक सरस्वतीकी आमा तारा खड्काले आफ्नो छोरीलाई कसैले मारेको दाबी गरिन । उनले घटनाको सत्य तथ्य छानबिनका लागि घटनास्थल पुगेका अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साललाई आग्रह गरिन ।

मृतक इशराको भाउजु कृष्णा खड्काले दुवै जनाको हत्या भएको दाबी गरिन । उनले भनिन् एक जना मात्र भए पनि हामी भवितव्य भयो भन्थ्यौ, दुई जना नै एकै प्रकारले कसरी मरे । घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्नुपर्छ ।

घटनामा संलग्न भएको हुन सक्ने आशङ्का भएका व्यक्तिको विवरण परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएको बताइएको छ । आशङ्का गरिएका व्यक्तिले मृतककी भाउजु कृष्णासँग टेलिफोनमा कुरा गर्दै शुक्रवार आफू त्यस जङ्गलमा गएको स्वीकार गरेका छन् ।

उनले मृतक दुबै जनासँग आफ्नो कुराकानी भएको तर आफू चाडै फर्किएको बताएका छन् । कृष्णाका अनुसार आफूसंगको कुराकानीमा आरोपीले उनीहरुको मृत्युको विषयका आफूलाई जानकारी नभएको बताएको थियो । आरोपीको फोन भने बन्द छ । उनलाई प्रहरीले भेटाएको छैन ।

आइतबार बिहानै घटनास्थलमा अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल पुगे । उनीसँगै अछाम प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारी पनि थिए ।

प्रमुख जिल्ला अधिकारी लम्सालले घटनालाई गम्भीर रूपमा लिएको बताए । उनले घटनाको वास्तविकता थाहा पाउन अनुसन्धानलाई पर्खिनुपर्ने बताए । ‘घटना स्थलको प्रकृति हेर्दा दुर्घटना नै हो भन्ने वा घटाइएको घटना हो भन्ने ठम्याउन सकिएको छैन ।’ उनले भने ।

अछामका प्रहरी प्रमुख भण्डारीले घटनाको गहिरो गरेर अनुसन्धान सुरु भएको बताए । उनका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय कोहलपुरको केनाईन शाखाबाट तालिम प्राप्त कुकुरलाई समेत अनुसन्धानका लागि प्रयोग गरिएको छ । जम्बो नामको सो कुकुर आइतबार बिहानै घटनास्थल पुगेको थियो ।

यस्तो छ घटना विवरण
शुक्रवार बिहान ढकारी गाउँपालिका–८ काँसेगडाबाट बाख्रा र गोरु लिएर मृतक सरस्वती र इश्वरा सोही वडाको बेसीमा पर्ने रिमारवा गइन । उनीहरूसँगै परिवारका अन्य सदस्य पनि रिमारवा गए । रवामा उनीहरूको मौसमी बसाई छ ।

उतै गोठ छाना भएका उनीहरूले घरबाट लिएर गएका भाँडाकुँडा र अन्य सामान गोठ छानामा छोडेर बाख्रा लगेर गोठ छानादेखि दश मिनेटको पैदल दुरीमा रहेको छिन्ने ओडारतिर बाख्रा लगेर चराउन गए ।

साँझ बाख्रा फर्किएर गोठ छाना आउनै लाग्दा बाटोमा छिमेकीको गँहुबालीमा सरुखान लागे । मृतककै छिमेकीले बाख्रालाई बाटोतिर लगाइदिए । सरस्वतीका ७ र ईश्वरीका १५ बाख्रा सरासर आफ्नो गोठ छाना पुगे ।

मृतकका घरमा रहेका परिवारले बाख्राले सरु खाएको थाहा पाए । उनीहरूले गोठालो गएका दुबै जना (मृतक) ले बाख्रा छोडेको भन्दै मनमै उनीहरूप्रति आक्रोश राखे । बाख्रा पुगे पनि दुवै जना साँझसम्म गोठ छाना नपुग्दा बाख्राले सरु खाएको भन्दै परिवारका सदस्य रिसाउने डरले घर नआएको बुझाई बनाए ।

सरस्वतीकी आमाले अबेर रातिसम्म गोठ छानाको आसपास खोजी रहिन । उनको छोरी आउने आशा अबेर रातिसम्म रहिरह्यो । राति अबेरसम्म उनीहरू नफर्किदा उनीहरूले विवाह गरेर भागेको हुन सक्ने आशङ्का परिवारको भयो ।

विवाह गरेर भागेर जान सक्ने सम्भावित ठाउँमा उनीहरूको खोजी भयो । शनिवार बिहानदेखि उनीहरू हराएको कुरा उनीहरूको गाउँ काँसेगडामा समेत हल्ला खल्ला भयो । सबै जनाले विवाह गरेर भागेको हुनसक्ने अड्कल गरे ।

मृतक दुबैजनाका बुवा छिमेकी मुलुक भारतमा भएकोले सरस्वतीका ठुला बुवा अवि खड्काले वडा कार्यालयमा बालविवाहको उजुरी दिन जाने सल्लाह गरे । सोही अनुसार खड्का उकालो लाग्दै वडा कार्यालय जान भन्दै उनीहरूका जन्मदर्ताको फोटोकपी खोज्न उनीहरू पढ्नै विद्यालय विद्याप्रवधनी मावि पुगे । शनिवार भएका कारण उनले जन्मदर्ताको कपी समेत पाएनन् । आइतबार बालविवाहको मुद्धा दिने गरेर खड्का काँसेगडा फर्किए ।

बेलुकी करिब ५ बजे मृतकहरूको लास भेटिएको स्थान छिन्ने ओडार हुँदै माछा मारेर फर्किएका ४÷५ जनाको समूहले ईश्वराको लास देख्यो । उनीहरूमध्ये स्थानीय प्रेम खड्काले गाउँमा फोन गरेर लास भेटिएको खबर गरे । गाउँले गएर खोजतलास गर्दा १६ मिटरको दुरीमा सरस्वतीको समेत क्षतविक्षत भएको लास भेटियो ।

स्थानीयले स्थानीय प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय कमलबजारको टोली बेलुकी करिब ६ बजे घटनास्थल पुग्यो । प्रहरीले टोलीले घटनास्थल शिल गरेर राख्यो । रातिको समयमा लास उठाउन नसकिने भन्दै प्रहरीले घटनास्थललाई सुरक्षा दियो ।

आइतबार बिहानै जम्बो कुकुरसहित प्रमुख जिल्ला अधिकारी, अछाम प्रहरी प्रमुख, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि समेत घटनास्थल पुगेका थिए ।

मृतकहरुको पोष्टमार्टम नेपालगञ्ज हुने भएको छ । त्यसका लागि आवश्यक साधनको व्यवस्था गर्न खोजिएको छ । दुई किशोरीको शंकास्पद मृत्युले सिङ्गो गाउँ शोकमा छ ।

मृतकहरुको टाउको, निधार, ढाँड र खुट्टामा गहिरो चोट
ढकारी गाउँपालिका ८ र १ को बीचमा एउटा खोला छ । वडा नम्बर ८ घर भएका उनीहरूको शव खोलापारी वडा नम्बर १ स्थित सामुदायिक वन छ ।

छिन्ने ओडार भनेर चिनिने सो ठाउँमा सानासाना बुट्यान छन् । गोरेटो बाटो जस्तै गोठालाहरूको वारपार गर्ने बाटो छ । बाटोदेखि करिब २० मिटरको दुरीमा मृतक इशराको शव छ । उनको टाउको र निधारमा ठुलो घाउ छ । बुट्यानमा अड्किएको जस्तो देखिन्छ । उनको टाउको शरीर भन्दा तल छ । उनको शव भएको ठाउँ भन्दा करिब १६ मिटरमाथि अर्की मृतक सरस्वतीको शव छ । उनको शव घोप्टो पल्टिएको थियो । प्रहरीका अनुसार उनको खुट्टा भाँचिएको देखिन्छ ।

दुवै जनाको शव भएको ठाउँमा सोझै माथिबाट ढुङ्गा लडेर गएको देखिन्छ । दुवै जनाको शव भएको ठाउँबाटै ढुङ्गा गएको हुनसक्ने अनुमान गर्न सकिन्छ । सरस्वतीको शव भेटिएको ठाउँको करिब ३० मिटर माथिबाट सो ढुङ्गा आएको देखिन्छ ।

माथिबाट आएका दुईमध्ये एउटा ढुङ्गा शव भएको भन्दा अर्को छेउमा करिब ३० मिटर टाढा अड्किएको छ । अर्को ढुङ्गा इशराको शव भएका स्थानको तलतिर करिब १५ मिटर दुरीमा अड्किएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार