१९ मंसिर २०८१, बुधबार

बाजुरामा बुथ कब्जाको राजनीति छोड्नैपर्छ





लोकतान्त्रिक प्रक्रियालाई शान्त, निष्पक्ष र भयरहित बनाउने दिशामा बाजुराका प्रमुख चार दलले संयुक्त समझदारी गरेका छन्। यो कदम बाजुरालाई विगतका हिंसात्मक चुनावी घटनाहरूबाट मुक्त गराउँदै जिल्लाको सकारात्मक पहिचान निर्माण गर्न प्रेरित हुने आशा गर्न सकिन्छ। स्वामीकार्तिक गाउँपालिकामा आज उपाध्यक्ष पदको चुनाव हुने भएकोले हिजो सो सहमति गरिएको हो ।

नेपाली कांग्रेस, नेकपा (एमाले) , नेकपा (माओवादी केन्द्र), र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूले तीन बुँदे समझदारीमा हस्ताक्षर गर्दै निर्वाचन प्रक्रियामा बल प्रयोग, बुथ कब्जा र हिंसात्मक गतिविधिहरू रोक्न प्रतिबद्धता जनाएका छन्। विगतका संघ, प्रदेश, र स्थानीय तहका चुनावमा देखिएको असहमति र विवादले जिल्लाको नाममाथि कालो दाग लगाएको थियो। त्यसैले यस पटक दलहरूले आपसी सहकार्य र जिम्मेवारीलाई प्राथमिकतामा राखेको देखिन्छ।

उपनिर्वाचनको सन्दर्भमा दलहरूले मतदाताको स्वतन्त्रता सुनिश्चित गर्न अपाङ्गता र अशक्तता बाहेक अन्य कसैलाई अर्को व्यक्तिको मत हाल्न नदिनु, सुरक्षाकर्मी र कर्मचारीप्रति सम्मानजनक व्यवहार गर्नु र शान्तिपूर्ण मतदान वातावरण निर्माण गर्ने सहमति जनाएका छन्। यसले बाजुरामा लोकतान्त्रिक प्रक्रियालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

विगतमा चुनावी हिंसा र बुथ कब्जाले मात्र बाजुराको परिचय बनेको छ। यसपटक दलहरूको समझदारीले मतदाता र उम्मेदवार दुवैलाई शान्त र सुरक्षित वातावरणमा सहभागी गराउने सन्देश दिएको छ। मतदाताहरूले निडर भई आफ्नो अधिकार प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्न दलहरूको प्रतिबद्धता प्रशंसनीय छ।

बाजुराका दलहरूले यो समझदारीमार्फत जिल्लालाई हत्या र हिंसाको जिल्ला भन्दा विकास र सम्भावनाको जिल्ला बनाउने दृढता देखाएका छन्। यस प्रकारका प्रयासले जिल्लाको राजनीतिक संस्कारमा सुधार ल्याउनुका साथै देशव्यापी रूपमा सकारात्मक सन्देश दिनेछ।

यो सहमति बाजुरामा मात्र सीमित नरही सम्पूर्ण देशका राजनीतिक दलहरूले अनुकरण गर्न सक्ने उदाहरण बन्नुपर्छ। दलहरूले आ९आफ्ना विचार र सिद्धान्तको प्रतिस्पर्धा गर्दा पनि मतदाताको अधिकार र शान्ति सुनिश्चित गर्न सकिन्छ भन्ने तथ्य स्थापित गर्नु आजको आवश्यकता हो। बाजुराको यो कदम लोकतन्त्रको सुदृढीकरणतर्फ एउटा महत्त्वपूर्ण पाइला हो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार