हराएका र म्याद गुर्जेका आप्रवासी नेपालीले माल्टाबाटै पासपोर्ट नवीकरण गर्न पाउने
(युरोप)/पासपोर्ट (राहदानी) हराएका र म्याद गुर्जेका आप्रवासी नेपालीले माल्टाबाटै पासपोर्ट नवीकरण गर्न पाउने भएका छन् ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाको सहकार्यमा राहदानी विभाग नेपाल र स्पेनमा रहेको नेपाली राजदूतावासको समन्वयमा माल्टामा नोभेम्बर ३० तारीखदेखि डिसेम्बर ४ तारिखसम्म पासपोर्ट नवीकरण लगातका अन्य कन्सुलर सेवा पाउने भएका हुन् ।
नेपाली राजदूतावासले गत बुधबार माल्टामा घुम्ती कन्सुलर शिविर सञ्चालन हुने भनेर राजदूतावासको लेटरप्याडबाट आधिकारिक रुपमा सूचना सार्वजनिक गरेर जानकारी दिएको छ । राहदानी विभाग नेपाल र नेपाली राजदूतावास म्याड्रिडको एक टोली आएर माल्टामा घुम्ती कन्सुलर शिविर संचालन गरेर सेवा प्रदान गरिने राजदूतावासले जनाएको छ ।
घुम्ती कन्सुलर शिविर संचालन हुन बारे राजदूतावासले आधिकारिकरुपमा जानकारी गरेपछि माल्टामा रहेका आप्रवासी नेपालीले खुसी व्यक्त गरेका छन् । फेसबुक र टिकटकमा माल्टामा रहेका नेपालीले खुसीको खबर भन्दै राजदूतावासले जारी गरेको पत्र पोष्टगर्दै राजदूतावास र एनआरएनए माल्टालाई धन्यवाद दिदै सामाजिक संजाल मार्फत उनीहरुले प्रशंसा गरेका छन् ।
दूतावासले पासपोर्ट हराएका र म्याद गुर्जेका माल्टामा रहेका नेपालीले अनलाइनबाटै फाराम भर्न सकिने व्यवस्था गरेको छ । थप जानकारीका लागि स्पेनमा ३६ ७७३९६७८७, ३६ ७७७५६०५५ र ३६ ७७९४६०७७ मोबाइल नम्बरमा र एनआरएनए माल्टामा सम्पर्क गर्न सकिने नेपाली राजदूतावासका कार्यवाहक राजदूत यज्ञराज पौड्यालल बताए ।
माल्टामा पासपोर्ट नवीकरणको समस्या झेल्दै आएका र स्पेनमा गएर नवीकरण गर्दा समय र पैसा धेरै लाग्ने समस्यामा सहजता ल्याउन माल्टामा घुम्ती कन्सुलर शिविर संचालनको लागि राहदानी विभाग नेपाल र नेपाली राजदूतावासमा एनआरएनए माल्टाले समन्वय गर्दै आएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले बताए ।
नेपाली राजदूतावास म्याड्रिडमा आफू र एनआरएनए माल्टाका उपाध्यक्ष सत्यनारायण झाले समन्वय भेटघाट गरेर माल्टामा पासपोर्ट हराएका र म्याद गुर्जेका आप्रवासी नेपालीलाई माल्टामा घुम्ती कन्सुलर शिविर संचालन गरेर सजिलै पासपोर्ट उपलब्ध गराउने विषयमा छलफल गरेको अध्यक्ष खनालले जानकारी दिएका छन् ।
एनआरएनए माल्टाका उपाध्यक्ष झाले माल्टामा रहेका नेपालीको पासपोर्ट रिनुअल गर्नको लागि सजिलो होस् भनेर माल्टामा घुम्ती कन्सुलर शिविर संचालन गर्न पहल गर्दै आएका थियौं । पटकपटको पहलपछि राजदूतावासले शिविर सञ्चालन हुने आधिकारिक नोटिस जारी गरेपछि म धेरै खुसी भएको छु ।
माल्टाबाट स्पेन दूतावासमा पासपोर्ट रिनुअल गर्न आउदा जाँदा एक लाखभन्दा बढी नेपाली रुपियाँ खर्चहुने गरेको र अब त्यो खर्च जोगिने झा बताउछन् ।
अहिले अनलाइन मार्फत फाराम संकलन गर्ने काम भइरहेको छ । फाराम भर्ने सम्बन्धी एनआरएनए माल्टाको पेजबाट सजिलो होस् भनेर भिडियो लगायतका अन्य सामाग्रीबाट जानकारी दिने काम गरेर रहेको झाले बताए । कतिपयले फोन गरेर कतिपयले कार्यलयमै आएर फाराम कसरी भर्ने भनेर सोध्ने गरेको बताउँदै झाले एनआरएनए माल्टा परिवारले उनीहरुलाई सहयोग गर्दै आएको बताएका छन् । हिजो दिनभरी कार्यालयमै बसेर आफू लगायतका साथीहरुले सहयोग गरेको उनले बताए ।
एनआरएनए माल्टाका सल्लाहकार, नमस्ते नेपाल मिनिमार्केटका सञ्चालक एवम् प्रवासी नेपाली मञ्चका अध्यक्ष बाबु अर्यालले एनआरएनए माल्टाले आप्रवासी नेपालीको हीतमा राम्रो काम गर्दै आएको बताएका छन् । माल्टामा घुम्ती कन्सुलर शिविर संचालनको लागि समन्वय गर्ने राहदानी विभाग नेपाल र नेपाली राजदूतावास स्पेनलाई उनले धन्यवाद दिएका छन् । शिविर सभ्यरुपमा सफल बनाउन माल्टामा रहेका सबै नेपालीलाई सहयोग गर्नका लागि अर्यालले अनुरोध समेत गरेका छन् ।
एनआरएनए माल्टाका सल्लाहकार एवम् जनसम्पर्क समिति माल्टाका सभापति हरी विसीले एनआरएनए माल्टाको समन्वयमा हुन लागेको घुम्ती कन्सुलर शिविरमा जनसम्पर्क समितिबाट व्यक्तिहरु पठाएर व्यवस्थापनमा सहयोग गर्ने तयारीमा जुटेको बताए ।
घुम्ती कन्सुलर शिविरबाट धेरै नेपालीले लाभ लिन सक्ने भन्दै उनहिरुको लाखौं रुपियाँ समेत जोगिने बिसी बताउछन् ।
गतसाल अप्रिलमा भएको घुम्ती कन्सुलर शिविरबाट एक हजार ५० जना माल्टाका आप्रवासी नेपालीले पासपोर्ट नविकरण लगायतका अन्य कन्सुलर सेवा लिएका थिए ।