२९ आश्विन २०८१, मंगलवार

“विपद र उद्धार कार्य : आवश्यकता र मूल्यांकन सम्बन्धी समिक्षा”




काठमाडौ/ ग्लोबल सेन्टर फर क्लाइमेटएण्डसेक्युरिटी गभर्नेन्स (जिसिएसजि)को आयोजनामा पछिल्लो वर्षाका कारण उत्पन्न “विपद र उद्धार कार्य : आवश्यकता र मूल्यांकन सम्बन्धी समिक्षा” विषयक कार्यक्रम काठमाण्डौमासम्पन भएको छ ।

राजनैतिक दलका नेताहरु, सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु तथा पूर्वपदाधिकारीहरु, विषय विज्ञहरुको सहभागितामा भएको छलफलमा सहभागिहरुले पछिल्लो वर्षातको पूर्वानुमानका सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले समयमा नै जानकारी प्रदान गरेता पनि अन्य सरकारोरवाला निकायहरुले आवश्यकपूर्व तयारी समयमा नै गर्न नसक्नु प्रमुख कारण रहेको निष्कर्ष निकालेका थिए ।

विपद उद्धारका लागि खटिएका सुरक्षा निकायहरुसंग आवश्यक बन्दोवस्तीका सामान र दक्ष तथा तालिम प्राप्त जनशक्तिको उपलब्धतामा कमी हुनु, प्रधानमन्त्री, अर्थमन्त्री, प्रहरी महानिरीक्षक, राष्टिय विपद जोखिमन्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी अधिकृत लयायतका व्यक्तिहरु देश बाहिर हुनु र मुख्य सचिव काठमाडौ बाहिर हुनुका साथै शनिवारको दिन भएकोले सरोकारवाला निकायहरुकाविचमा आवश्यक समन्वय हुन नसक्नु दुखद पक्ष रहेको उल्लेख गरेका थिए ।

विगतमा विभिन्न ठूलाठूला विपदहरुको सामना गरेता पनि राजधानीमा बाढीजन्य विपदको ताण्डवलाई सरकार, सुरक्षा निकाय र अन्य सरोकारवाला निकायहरुका बीचमा प्रभावकारी समन्वय हुन नसक्दा विपद उद्धार कार्य प्रभावकारी बन्न नसकेको धारणा व्यक्त गरेका थिए ।

नेपालमा विपद् र प्राकृतिक प्रकोप न्यूनीकरण, रोकथाम र उद्धार सम्बन्धी आवश्यक ऐन, कानून, नीति र नियमहरु भएता पनि कार्यान्वयन पक्ष कमजोर रहेको धारणा व्यक्तगर्दै यस विपद्ले सरकार र अन्य सरकोरवालाहरुका लागि एक महत्वपूर्ण शिक्षाप्रदान गरेको निष्कर्षमा विज्ञहरु एकमत रहेका थिए ।

विपद् व्यवस्थापनका एक अधिकार सम्पन्न संरचना, दक्ष जनशक्ति र श्रोत साधनको सम्बन्धमा समयमा नै उपयुक्त निर्णय र गृहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

निरन्तर जोखिमन्यूनीकरण, उद्धार कार्य र विपद व्यवस्थापनकालागि तयारी अवस्थामा रहने तालिम प्राप्त जनशक्ति सहितको सक्रिय संरचना आवश्यक रहेको विज्ञहरुको राय थियो । विपद व्यवस्थापनकालागि समुदाय स्तरसम्म सचेतना र निमार्ण मापदण्डको प्रभावकारी कार्यान्वयन,पर्यावरणीय क्षय र जलवायु परिवर्तनका विविधपक्षलाई समेत मनन गर्दै पूर्वाधार निमार्ण, शहरी विकास र विपदका सम्बन्धमा राजनीतिक र कर्मचारीवृत समेत यस्ता किसिमका छलफल अन्तरक्रियाको आवश्यकता रहेको धारणा औल्याएका थिए ।

अन्तरक्रिया कार्यक्रममा पूर्व उपसभामुख पुष्पा भुसाल, पूर्व अर्थमन्त्री सुरेन्द पाण्डे, पूर्व मन्त्री सीता गुरुङ, पूर्वसांसद डा. दीपकप्रकाश भट्ट, पूर्वरथी बालानन्द शर्मा, ससस्त्र प्रहरी बल पूर्व महानिरीक्षक पुष्पराम खत्री, नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्की पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल, केशबहादुर शाही, प्रहरी बरिष्ठ उपरिक्षक सहप्रवत्ता विश्व अधिकारी, सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक दिगविजय सुवेदी, आमोद गुरुङ्ग, रतिन्द्र खत्री, उपप्राध्यापक चिरञ्जीवि भण्डारी, डा. विकल श्रेष्ठ लयायतका व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका कार्यकारी निर्देशक अभयराज जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार